अधिकार र पहिचानका लागि पुनः सङ्घर्ष गर्ने बेला आयो : उपेन्द्र यादव

डिसी नेपाल
१७ असोज २०८३ १६:४८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनआन्दोलन र मधेस विद्रोहबाट प्राप्त राजनीतिक उपलब्धिहरूमाथि गम्भीर खतरा उत्पन्न भएको भन्दै अधिकार र पहिचानका लागि पुनः सङ्घर्षमा उत्रिनुपर्ने अवस्था आएको बताएका छन्।

शनिबार आयोजित जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै अध्यक्ष यादवले नेपालमा मधेसी समुदाय अझै पनि विभेद र उत्पीडनमा रहेको दाबी गरे।

आफ्ना मुद्दा र विचारधारामा धेरै समानता रहेकाले जनमत पार्टी र जसपा नेपालबीच सहकार्यको खाँचो रहेको औँल्याउँदै उनले भने, ‘हामीबिच धेरै कुरामा समानता छ। यति धेरै विचार मिल्दा पनि हामी किन छुट्टाछुट्टै छौँ? अब मधेस र मधेसीको अधिकारका लागि एक ठाउँमा उभिएर सहकार्य गर्दै अघि बढ्नुपर्छ।’

आफ्नो अधिकार र पहिचान रक्षाका लागि आफूहरूले अग्रगामी मोर्चा गठन गरेर अघि बढ्ने प्रयास गरिरहेको जानकारी दिँदै उनले मधेस आठ जिल्लामा मात्र सीमित नरहेको र झापादेखि कञ्चनपुर (मेचीदेखि महाकाली) सम्मको समथर भूभाग नै मधेस भएको स्पष्ट पारे।

संविधान निर्माण प्रक्रियाको आलोचना गर्दै अध्यक्ष यादवले भने, ‘विगतमा सरकार र तत्कालीन मधेसी मोर्चानिच ‘एक मधेस, एक स्वायत्त प्रदेश’को आठबुँदे सम्झौता भएको थियो। तर संविधानका लेखनदासहरूले मधेसी जनताको बलिदानीको बेवास्ता गर्दै जबरजस्ती मधेसलाई आठ जिल्लामा मात्र सीमित गरिदिए।’

प्राप्त उपलब्धिको रक्षा र थप अधिकार प्राप्तिका लागि सम्पूर्ण उत्पीडित समुदाय र पहिचानवादी शक्तिहरू एकजुट भई सशक्त आन्दोलनमा होमिनुपर्नेमा उनले जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *