बेनी-जोमसोम-कोरला सडक सञ्चालनमा चुनौती, सोमबारदेखि नियमित गर्ने तयारी

डिसी नेपाल
२३ असोज २०८३ ६:४७
8
Shares

म्याग्दी। चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी-जोमसोम-कोरला सडकखण्डमा बाढीपहिरोले पुर्‍याएको क्षतिपछि सडक मर्मत अन्तिम चरणमा पुगे पनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालन गर्न अझै चुनौती देखिएको छ।

असोज ८ देखि ११ गतेसम्मको भीषण बाढीपहिरोका कारण म्याग्दी र मुस्ताङलाई जोड्ने २०२ किलोमिटर लामो यो सडकखण्डको विभिन्न ५० ठाउँमा पहिरो खसेको, सडक भासिएको र १० ठाउँमा कालीगण्डकी नदीको कटानले पूर्ण रूपमा कटान गरेको थियो।

सडक विभाग तथा सुरक्षा निकायको निरन्तर प्रयासपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ कुनौटा भिर र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरस्थित सडक पुलको पहुँचमार्ग तयार गरी बिहीबार साँझ अत्यावश्यक सवारीसाधन वारपार गराइएको छ। बाढीले बगाएको कुनौटाको सडक र पोखरेबगर पुलको पहुँचमार्ग निर्माणमा सबैभन्दा बढी कठिनाइ पैदा भएको थियो।

अहिले इन्धन, एम्बुलेन्स, विद्युत् र सञ्चार सेवा सञ्चालन गराउन आवश्यक उपकरण तथा राहत सामग्री बोकेका सवारीसाधन मात्र एकतर्फी रूपमा चलाउन सकिने अवस्था छ। सडकमा थप मर्मतकार्य बाँकी रहेकाले तत्काल सर्वसाधारण तथा अन्य सवारी सञ्चालन गर्दा दुर्घटनाको जोखिम उच्च रहेको छ।

प्रारम्भिक चरणको मर्मत सम्पन्न भए पनि पहिरो पूर्ण रूपमा पन्छाउने, भासिएको र कटान भएको ठाउँमा फिलिङ गर्ने, लेभल मिलाउने तथा क्रसिङ बनाउने कार्य बाँकी नै छ। यही अवस्थामा सबै सवारी छाड्दा अस्तव्यस्त हुने भएकाले आइतबारसम्म बाँकी मर्मतकार्यलाई पूर्णता दिएर आगामी सोमबारदेखि मात्रै सर्वसाधारणका लागि यातायात सञ्चालन गर्ने कार्ययोजना बनाइएको छ।

यसपटकको बाढीपहिरोले केराबारी, लामाबगर, तिल्केनीचौर, राहुपारे, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, तातोपानी, सुकेबगर, खामभित्ता र खहरेखोला क्षेत्रमा सबैभन्दा ठूलो क्षति पुर्‍याएको छ। म्याग्दी खण्डको ३३ किलोमिटरमध्ये हालै कालोपत्र सकिएको र ढलानको काम भइरहेको २० किलोमिटरसम्बन्धी क्षेत्र क्षतविक्षत भएको छ।

चीनसँग हाल सञ्चालनमा रहेको एकमात्र कोरलानाका जोडिने भएकाले सरकारले उच्च प्राथमिकतामा राखेर दुई साताभित्रै यातायात सञ्चालनको तयारी गरेको हो। तर, यस सडकलाई पहिलेकै अवस्थामा फर्काउन ठूलो लगानी र पूर्वाधार आवश्यक पर्ने देखिन्छ। करिब ९० करोड रुपैयाँबराबरको क्षति भएको यो सडकलाई नयाँ डिजाइनमा पुनर्निर्माण गर्न थप तीन अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान छ।

योजना सुरु भएयताकै ठूलो क्षति यसपालिको बाढीले गरेको अध्ययनले देखाएको छ। अत्यधिक वर्षा, सहायक सडक भत्कनु, जलविद्युत् आयोजनाले नदी किनारमा फालेका मकिङ, कमजोर भूगोल, नयाँ पहिरो सृजना हुनु र सहायक नदीमा बाढीको सतह बढ्नुजस्ता कारणले कालीगण्डकीमा बाढीको आयतन बढेर अकल्पनीय क्षति पुगेको हो।

अहिले कोरलानाकाबाट दसैँलाई लक्षित गरी आयात गरिएका सामान बोकेका ५०० भन्दा बढी कन्टेनर, मुस्ताङको स्याउ र आलु बोकेका गाडी तथा चाडपर्वमा घर फर्किने यात्रुहरूको चाप उच्च छ। यसको व्यवस्थापनका लागि म्याग्दी र मुस्ताङका जनप्रतिनिधि, प्रदेशस्तरका सुरक्षा अधिकारीसहितको टोलीले बिहीबार स्थलगत निरीक्षणसमेत गरेको छ।

साँघुरा र जोखिमयुक्त ठाउँमा सवारी जाम हुन नदिन तथा दुर्घटना रोक्न सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ। अत्यावश्यक सेवा, मालवाहक कन्टेनर र खाद्यान्न ढुवानीलाई प्राथमिकता दिनुपर्ने भएकाले सडकको अवस्था पूर्ण सहज नहुँदासम्मका लागि पर्यटकीय भ्रमणमा आउनेहरूलाई केही दिन आफ्नो यात्रा योजना पछि सार्न अनुरोध गरिएको छ।

गण्डकी प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तथा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च सुरक्षा अधिकारीहरूले सडकको अनुगमन गरिसकेका छन्। म्याग्दी र मुस्ताङको जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेर यातायात सञ्चालनलाई थप व्यवस्थित र सुरक्षित बनाउन कार्ययोजना तयार पारिनेछ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *