कबड्डीको ‘काजी’ पात्रबारे दयाहाङ-काजी परिपक्व र वृद्ध हुँदा कस्तो हुन्थ्यो, त्यो भूमिका निर्वाह गर्ने मन छ

डिसी नेपाल
२५ असोज २०८३ १४:१५

काठमाडौं।  नेपाली चलचित्र क्षेत्रमा परम्परागत ‘हिरो’को मानकलाई भत्काउँदै आफ्ना पात्रलाई जीवन्त बनाउने अभिनेताका रूपमा परिचित दयाहाङ राईका लागि ‘कबड्डी’ चलचित्रको ‘काजी’ पात्र निकै खास छ।

रङ्गमञ्चबाट अभिनय यात्रा सुरु गरी ‘लुट’ र ‘कबड्डी’जस्ता सुपरहिट चलचित्रमार्फत दर्शकको मन जित्न सफल राईका अनुसार ‘काजी’ पात्र छरछिमेकमै भेटिने स्वभावको भएकाले दर्शकले त्यसलाई आफ्नै जीवनसँग जोडेर हेरेका हुन्।

‘कबड्डी’ मा काजीको एकोहोरो प्रेम, इमानदारी र प्रेम व्यक्त गर्ने भद्दा शैलीका कारण दर्शकले हास्यरस पाएका थिए। काजी पात्रको भविष्यबारे कुरा गर्दै अभिनेता राईले काजीको युवावस्था र प्रेमप्रतिको निष्ठा दर्शकले देखिसकेकाले अब उसको परिपक्व रूप र मनोविज्ञानलाई पर्दामा उतार्न चाहेको बताएका छन्।

समयसँगै मानिसमा दायित्व र परिपक्वता आउने भएकाले उमेर ढल्केपछि काजीको स्वभाव, परिवेश र सोच कस्तो हुन्थ्यो भन्ने कुरा अभिनयमार्फत देखाउने आफ्नो चाहना रहेको उनले व्यक्त गरे।

‘कबड्डी’ का निर्देशक रामबाबू गुरुङ पनि अभिनेता राईको यस विचारसँग सहमत छन्। पात्रहरूको परिपक्वता र बदलिँदो मनोविज्ञान पर्दामा चित्रण गर्नका लागि कलाकारहरू स्वयं पनि एउटा उमेरमा पुग्नुपर्ने र त्यसपछि निश्चित समयको अन्तरालमा यस्ता शृङ्खला ल्याउन सकिने निर्देशक गुरुङको भनाइ छ।

‘कबड्डी ४’ लाई ‘फाइनल म्याच’ भन्दै प्रदर्शन गर्दा त्यसले नेपालमा मात्रै करिब २४ करोड रुपैयाँको कीर्तिमानी ग्रस कलेक्सन गरेको थियो। दर्शकको निरन्तर माया र नयाँ कथाको उपलब्धताका कारण निर्देशक गुरुङले ‘आफ्टर द फाइनल म्याच’ नाम दिँदै ‘कबड्डी’को नयाँ शृङ्खला तयार पारेका छन्। दसैँलाई लक्षित गर्दै निर्माण गरिएको यो चलचित्र आगामी कात्तिक ६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *