बूढीगण्डकी बाढीको कारक: माथिल्लो क्षेत्रमा खसेको पहिरो

डिसी नेपाल
२५ असोज २०८३ १४:२६
36
Shares

काठमाडौं।  बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढी माथिल्लो क्षेत्रमा पहिरोले नदी थुनिएपछि फुटेर आएको बाढी पूर्वानुमान महाशाखाले अनुमान गरेको छ। महाशाखाले विज्ञप्ति जारी गर्दै बाढीको उद्गमस्थल तथा आसपासका क्षेत्रमा भीषण बाढी आउने गरी भारी वर्षा नभएको जनाएको छ।

जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता राजन भट्टराईले पछिल्लो २४ घण्टामा ती क्षेत्रमा छिटपुट मात्र वर्षा भएको बताए।

प्रारम्भिक सूचना तथा भू-उपग्रह (स्याटेलाइट) तस्बिरका आधारमा माथिल्लो नदी क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि यो बाढी आएको हुन सक्ने अनुमान गरिएको उनले जानकारी दिए।

यता, माथिबाट आएको सोही लेदोसहितको भीषण बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ बिशालनगरस्थित स्याउली बजार र त्यहाँको सुकुम्बासी बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण सुकुम्बासी बस्ती र स्याउली बजारका गरी करिब ६० वटा घर पूर्ण रूपमा पखालिएका छन्।

यस्तै, बाढीले धादिङ र गोरखा जिल्ला जोड्ने ऐतिहासिक आरुघाटको पक्की पुलसमेत बगाएको छ। पुलको गोरखातर्फको आधा भाग बाढीले पूर्ण रूपमा ढालेको छ भने धादिङतर्फको सडक क्षेत्रमा नदीको बाढी पसेर व्यापक क्षति पुर्‍याएको छ।

तटीय क्षेत्रमा अझै पनि जोखिम कायमै रहेकाले स्थानीय प्रशासनले नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *