नवरात्रको पहिलो दिन पाथीभरामा भक्तजनको घुँइचो: भरिए फेदीका होटल, सुरक्षा र व्यवस्थापन कडा
ताप्लेजुङ। बडादशैंको पावन अवसरमा नवरात्र सुरु भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा दर्शनार्थी भक्तजनको आगमन ह्वात्तै बढेको छ। घटस्थापनाका दिन आइतबार बिहानैदेखि मन्दिर परिसरमा पूजाआजा तथा दर्शन गर्ने तीर्थयात्रीहरूको ठूलो घुँइचो लागेको छ।
नवरात्र सुरु भएसँगै पाथीभरा क्षेत्र र काफ्लेपाटी (फेदी) आसपासका होटलहरूमा दर्शनार्थीको चहलपहल र भीडभाड उल्लेख्य बढेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।
यतिबेला मौसम खुलेकाले कञ्चनजङ्घा, मकालु तथा फक्ताङलुङलगायतका हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न र पाथीभरा देवीको दर्शन गर्न आउने तीर्थयात्रीहरूले गर्दा फेदी र माथिल्लो क्षेत्रका प्रायः सबै होटलहरू भरिभराउ भएको स्थानीय होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताए।
दशैं तथा नवरात्रको समयमा आउने तीर्थयात्रीको बाक्लो आवागमनलाई व्यवस्थित, सुरक्षित र सहज बनाउन जिल्ला प्रशासन कार्यालयले विशेष तयारी गरेको छ।
पाथीभरा क्षेत्र विकास समितिसहित अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरी सुरक्षा प्रबन्ध, खानेपानी, स्वास्थ्य तथा यातायात व्यवस्थापनका लागि आवश्यक सबै प्रबन्ध मिलाइएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment