काठमाडौं उपत्यकामा घटस्थापनादेखि फूलपातीसम्म ग्यास साटासाट सुविधा, यी हुन् ६ केन्द्र

डिसी नेपाल
२५ असोज २०८३ १२:२३
28
Shares

काठमाडौं। बडादशैंको समयमा काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा विशेष बिक्री तथा साटासाट व्यवस्था सुरु गरिएको छ।

नेपाल एलपी ग्यास उद्योग संघले घटस्थापनादेखि फूलपातीसम्म एक साताका लागि उपत्यकाका ६ वटा निश्चित स्थानहरूबाट जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर भरिएको ग्यास सिलिन्डर लिन सकिने व्यवस्था मिलाएको छ।

यद्यपि, संघले जुनसुकै ब्रान्डको खाली सिलिन्डर साट्न सकिने र त्यसका लागि ग्यासको निर्धारित मूल्यबाहेक कुनै अतिरिक्त शुल्क नलाग्ने घोषणा गरे पनि व्यावहारिक रूपमा भने केही उद्योग तथा डिपोहरूले आफ्नै ब्रान्डका सिलिन्डर मात्र साट्ने गरेको उपभोक्ताहरूले गुनासो गरेका छन्।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार बजारमा हाल ५८ वटा ग्यास उद्योगका विभिन्न ब्रान्डका सिलिन्डरहरू प्रचलनमा रहेका छन्। चाडपर्वको समयमा फरक-फरक कम्पनीका सिलिन्डरका कारण उपभोक्ताले सास्ती भोग्नु नपरोस् र अतिरिक्त रकम तिर्नुपर्ने बाध्यता अन्त्य होस् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो।

उपत्यकाका विभिन्न भागहरूलाई समेट्ने गरी कलंकीस्थित श्रीकृष्ण ग्यास उद्योग, बालाजुस्थित नेपाल ग्यास उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको बिक्री केन्द्र र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट यो सेवा उपलब्ध गराइएको छ।

यी तोकिएका केन्द्रहरूबाट दैनिक बिहान ९:३० बजेदेखि अपराह्न ४:०० बजेसम्म ग्यास वितरण तथा सिलिन्डर साट्ने कार्य भइरहेको छ। चाडपर्वका बेला उपत्यका छाडेर घर फर्किने र उपत्यकामै रहने दुवै थरी उपभोक्ताका लागि ग्यासको आपूर्ति सहज बनाउन आयल निगम र ग्यास व्यवसायीहरूले संयुक्त रूपमा बजार अनुगमन समेत गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *