बूढीगण्डकीको बाढी तनहुँतर्फ बग्ने जोखिम: आँबुखैरेनी र देवघाटमा उच्च सतर्कता
काठमाडौं। गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढी तनहुँ जिल्लातर्फ आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले सुरक्षा सचेतना र पूर्वतयारी तीव्र पारेको छ। सम्भावित विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणलाई पूर्वसूचना जारी गरिएको छ।
तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार आइतबार बिहानैदेखि सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरी उच्च सतर्कता अपनाइएको छ। बाढीको जोखिमबारे स्थानीयवासीलाई सचेत गराउन नेपाल प्रहरीले तटीय क्षेत्रमा निरन्तर माइकिङ गरिरहेको छ भने जनप्रतिनिधिमार्फत पनि बस्तीहरूमा सूचना प्रवाह भइरहेको छ।
प्रजिअ तिवारीले माथिल्लो तटीय क्षेत्रबाट बाढी आइरहेकाले केही समयपछि तनहुँको तटीय इलाकामा प्रत्यक्ष प्रभाव पर्न सक्ने आँकलन गरिएको बताए। उनका अनुसार विशेष गरी आँबुखैरेनी गाउँपालिकाका वडा नम्बर ४ र ५ तथा देवघाट गाउँपालिकाका वडा नम्बर ४ र ५ लाई सम्भावित जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ।
प्रशासनले ती क्षेत्रका बासिन्दालाई नदी किनार आसपास नजान र पूर्वसावधानी अपनाउँदै तत्काल सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment