बूढीगण्डकी बाढी अपडेट: त्रिशूलीको बहाव ३ मिटर बढ्ने, बेनीघाट क्षेत्र ‘अति उच्च जोखिम’मा
काठमाडौं। गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीमा पानीसँगै भारी मात्रामा गेग्रान मिसिएको पाइएको छ।
बाढीले नदीको जलमापन केन्द्र र पुलसमेत बगाएपछि स्वचालित रूपमा तथ्यांक आउन बन्द भएको छ। नदीको बहाव निरन्तर घटबढ भइरहेकाले बूढीगण्डकी, त्रिशूली र नारायणी नदी तटीय क्षेत्रमा आइतबार साँझसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार बिहान करिब ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको तथ्याङ्क प्राप्त भएको थियो।
त्यसपछि बाढीले जलमापन केन्द्र नै बगाएपछि गेज रिडरमार्फत सूचना संकलन भइरहेको छ। गेज रिडरबाट प्राप्त जानकारीअनुसार बाढीको सतह पुलभन्दा पनि १ देखि २ मिटरसम्म माथि पुगेको थियो, जसले माथिल्लो तटीय क्षेत्रमा ठूलो क्षति र जोखिम बढाएको छ।
विभागले बूढीगण्डकीको बाढी त्रिशूलीमा मिसिँदा पर्न सक्ने असरलाई ध्यानमा राख्दै तटीय क्षेत्रलाई विभिन्न जोखिम वर्गमा विभाजन गरेको छ।
बूढीगण्डकी र त्रिशूली नदीको दोभान आसपास पर्ने बेनीघाट क्षेत्रलाई अति उच्च जोखिममा राखिएको छ। बाढीका कारण त्रिशूली नदीको बहाव करिब तीन मिटरसम्म बढ्ने अनुमान गरिएको छ। हाल त्रिशूलीको जलसतह सतर्कता तहभन्दा तलै रहे पनि नदी कटानको जोखिम उच्च रहने देखिन्छ।
त्यसैगरी बेनीघाटदेखि मुग्लिनसम्मको क्षेत्रलाई उच्च जोखिम र मुग्लिनभन्दा तलको क्षेत्रलाई मध्यम जोखिममा राखिएको छ। हाल देवघाटमा जलसतह करिब चार मिटर रहेकोमा बाढीका कारण थप साढे दुई मिटर बढेर साढे छ देखि सात मिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
यो अवस्था सतर्कता तहभन्दा तलै रहने अनुमान गरिए पनि जलसतहमा उल्लेख्य वृद्धि हुने भएकाले चितवन र नवलपरासीका तटीय क्षेत्रमा विशेष पूर्वसावधानी अपनाउन भनिएको छ।
प्राप्त भिडियो फुटेजहरूमा बाढीसँगै ठूलो मात्रामा लेदो र गेग्रान बगिरहेको देखिएकाले बाढीको वास्तविक कारणबारे थप अध्ययन भइरहेको विभागले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment