बूढीगण्डकी बाढी: ६ जनाको हवाई उद्धार, चितवन र नवलपरासीसम्म सतर्कताको चेतावनी
काठमाडौं। उत्तरी गोरखाको चुमनुब्रीस्थित छेकम्पारमा गएको पहिरोका कारण बूढीगण्डकी नदी थुनिएर आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार बाढी तथा पहिरोको उच्च जोखिममा रहेको गोरखाको जगत् इलाकाबाट नेपाली सेनाको हेलिकप्टरमार्फत ६ जनाको सकुशल उद्धार गरिएको छ।
खोज तथा उद्धारका लागि नेपाली सेनाको फौजलाई हवाई तथा स्थलमार्ग दुवैतर्फबाट प्रभावित क्षेत्रमा खटाइएको छ।
काठमाडौंमा तैनाथ सेनाको संयुक्त शीघ्र प्रतिक्रिया टोलीलाई हेलिकप्टरमार्फत जगत् तथा आसपासका जोखिमयुक्त क्षेत्रमा पठाइएको छ। प्रभावित नागरिकको सुरक्षा, राहत सामग्री वितरण र सुरक्षित स्थानान्तरणका लागि थप हेलिकप्टरहरूसमेत परिचालन गरिएका छन्।
बूढीगण्डकीमा आएको भीषण बाढी त्रिशूली नदीमा मिसिँदा तल्लो तटीय क्षेत्रहरू बेनीघाट, मुग्लिन, देवघाट हुँदै चितवन र नवलपरासीसम्म जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना छ। यसलाई ध्यानमा राख्दै गृह मन्त्रालय तथा स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्।
बाढीको बहाव सामान्य नभएसम्म नदी किनार आसपास नजान र सुरक्षा निकाय तथा स्थानीय प्रशासनले जारी गरेका सूचनाहरूको पूर्ण पालना गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।
प्रभावित क्षेत्रमा तत्काल सहयोग एवम् उद्धारका लागि एम्बुलेन्स सेवा १०२, जिल्ला प्रहरी कार्यालय गोरखा ९८५६०६११९० तथा सहायक प्रमुख जिल्ला अधिकारीलाई ९८५६०५७७७८ मा सम्पर्क गर्न सकिनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment