बूढीगण्डकीमा बाढीको जोखिम बढेपछि आरुघाट बजार खाली गराइयो

डिसी नेपाल
२५ असोज २०८३ ९:००

गोरखा । बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि जोखिमलाई मध्यनजर गर्दै आइतबार बिहान गोरखाको आरुघाट बजार खाली गराइएको छ।

नदीमा लेदो र गेग्रानसहितको ठूलो बाढी आएपछि तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने आशंकामा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो।

बाढीको सम्भावित जोखिमबाट स्थानीयलाई जोगाउन सुरक्षाकर्मीले माइकिङ गर्दै बजार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। नदीमा आएको बाढीका कारण आसपासका बस्तीमा समेत जोखिम बढेपछि सतर्कता अपनाइएको हो।

बूढीगण्डकी नदीमा पहिरोका कारण पानी थुनिएपछि एक्कासि बाढी आएको हो। बाढीले यसअघि नै गोरखाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। चुमनुब्री गाउँपालिका–३ न्याकचेत र सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल तथा आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल बगाएको छ।

बाढीले चुमनुब्री गाउँपालिका–३ सिर्दिबासका एक स्थानीयको कच्ची घरसमेत बगाएको छ भने अर्को घरमा पानी पसेको छ। धार्चे गाउँपालिका–५ माछिखोलाको तल्लो बस्तीमा पनि ५ देखि ७ वटा घर र त्यति नै संख्यामा रहेका टहरामा बाढी पसेको प्रहरीले जनाएको छ।

नदीमा आएको आकस्मिक बाढीका कारण तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षाकर्मीको निर्देशनअनुसार सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *