बूढीगण्डकीमा आकस्मिक बाढीको वितण्डा : दुई झोलुङ्गे र एउटा पक्की पुल बगायो, घरहरूमा क्षति
गोरखा । गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल र एउटा फलामे पक्की पुल बगाएको छ। बाढीले विभिन्न स्थानमा घर तथा टहरामा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत र सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ। यसैगरी, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ।
त्यस्तै, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको प्रहरीले जनाएको छ। तीन वटा पुल बगाएपछि सम्बन्धित क्षेत्रका बासिन्दाको आवतजावतमा समस्या उत्पन्न भएको छ।
गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले तल्लो तटीय क्षेत्रका विभिन्न बस्तीमा क्षति पुर्याएको हो। नदी थुनिएर एक्कासि बाढी आउँदा आसपासका क्षेत्रमा जोखिम बढेको छ।
बाढीले चुमनुब्री गाउँपालिका–३ सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को एउटा घरमा बाढी पसेको प्रहरीले जनाएको छ।
त्यसैगरी, धार्चे गाउँपालिका–५ माछिखोलास्थित तल्लो बस्तीमा पनि बाढी पसेको छ। बाढीका कारण त्यहाँ रहेका ५ देखि ७ वटा घर र त्यति नै संख्यामा रहेका टहरामा पानी पसेको प्रहरीले जनाएको छ।
बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुल, घर तथा बस्तीमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रका बासिन्दा जोखिममा परेका छन्। नदी थुनिएर बाढी आएको घटनाले तल्लो तटीय क्षेत्रका बस्तीमा थप सतर्कता अपनाउनुपर्ने अवस्था सिर्जना गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment