बुढीगण्डकी बाढी: ४७ जनाको सकुशल उद्धार, ४ जलविद्युत् आयोजना र आधा दर्जन पुलमा ठूलो क्षति

डिसी नेपाल
२५ असोज २०८३ १४:४१

काठमाडौं।  गोरखाको बुढीगण्डकी नदीमा आएको भीषण लेदोसहितको बाढीबाट प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको सकुशल उद्धार गरिएको छ।बाढीका कारण विभिन्न स्थानमा पक्की तथा झोलुङ्गे पुल, सर्वसाधारणका घरहरू तथा चारवटा जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले आइतबार दिउँसो १ बजेसम्मको अवस्थाबारे जानकारी दिँदै हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको बताएका छन्।

२०८३ असोज २५ गते बिहान गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका-६ लोक्पादेखि चुमलिङको बीचमा ठूलो पहिरो गई सोही स्थान भएर बग्ने बुढीगण्डकी नदी थुनिएपछि लेदोसहितको ठूलो बाढी आएर भौतिक क्षति पुर्‍याएको उनले जानकारी दिए। हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको सुखद पक्ष रहे पनि भौतिक क्षति भने निकै धेरै भएको प्राधिकरणले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकप्टर परिचालन गरी प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको सकुशल उद्धार गरेर सुरक्षित स्थानमा राखिएको छ।

भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढीपछि अवस्था केही सहज हुने अपेक्षा गरिएका बेला बुढीगण्डकीमा अर्को ठूलो विपद् आएको भन्दै प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले भौतिक संरचनामा ठूलो क्षति पुगे पनि हालसम्म मानवीय क्षति नहुनु सकारात्मक पक्ष भएको बताए।

प्राधिकरणका अनुसार बाढीको सूचना प्राप्त हुनासाथ प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न प्राथमिकता दिइएको थियो। सोही क्रममा इलाका प्रहरी कार्यालय आरुघाटबाट २५ जनाको प्रहरी टोली परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउँदै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो।

यस्तै सल्लेरीस्थित टाइम्स ऊर्जा जलविद्युत् आयोजनाका १२ जना कर्मचारीलाई समेत सुरक्षित स्थानमा सारिएको छ भने उक्त आयोजनाको भौतिक संरचनामा क्षति पुगेको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका १२७ जना, नेपाल प्रहरीका ८३ जना र सशस्त्र प्रहरी बल नेपालका १७७ जना गरी कुल ३८७ जना सुरक्षाकर्मी उद्धार कार्यमा परिचालन गरिएका छन्।

जल तथा मौसम विज्ञान विभाग र जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखामा बिहान ६ बजे सूचना प्राप्त भएपछि गोरखा, धादिङ हुँदै चितवनको बेनीघाटसम्मका सर्वसाधारणलाई मोबाइलमा एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो।

प्राधिकरणले गोरखा, तनहुँ र नवलपरासीलगायतका क्षेत्रमा समेत एसएमएसमार्फत सूचना सम्प्रेषण गरेको र लगत्तै तिनै सुरक्षा निकायलाई उद्धारमा परिचालन गरिएको जनाएको छ।

त्यसैगरी गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमसहित प्रभावित क्षेत्रका २२१ जना उद्धारकर्मीलाई तत्काल प्रतिकार्यमा खटिन एसएमएस अलर्ट पठाइएको थियो।

बिहान करिब ६ः३० बजेदेखि कार्यकारी प्रमुखको नेतृत्वमा कमान्ड पोस्टको बैठक निरन्तर जारी राखेर प्रभावित क्षेत्रमा अनुगमन, सुरक्षा निकाय परिचालन तथा खोज र उद्धारका कार्य भइरहेका छन्।

बाढीका कारण गोरखाका विभिन्न स्थानमा पुल तथा घरमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। चुमनुब्री गाउँपालिका-३ न्याकचेतस्थित न्याकचेतबाट सिर्दीबास जोड्ने पुरानो झोलुंगे पुल बाढीले बगाएको छ।

सोही स्थानमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको जानकारी प्राप्त भएको छ। त्यस्तै धार्चे गाउँपालिका-५ स्थित माछीखोलाबाट करौँजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ।

धार्चे गाउँपालिका-३ सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा जलविद्युत् आयोजनाको पावरहाउस तथा वरपरका सातदेखि आठवटा घर बगाएको प्रारम्भिक सूचना प्राप्त भएको छ। आरुघाट गाउँपालिका-९ नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने तीन भागमा रहेको पक्की पुलको गोरखातर्फको एक भाग बाढीले बगाएको छ।

सोही क्षेत्रमा माछीखोलाको तल्लो बस्तीमा बाढी पसेर २० देखि २२ घर अति जोखिममा परेका छन् भने आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको छ।

बुढीगण्डकी नदीमा आएको बाढीबाट विभिन्न क्षमताका जलविद्युत् आयोजनाहरूमा समेत ठूलो नोक्सानी पुगेको छ। प्राधिकरणका अनुसार ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र तथा केही निर्माण उपकरण बाढीले बगाएको छ।

त्यसैगरी २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुग्नुका साथै त्यहाँको बेलिब्रिज बगाएको छ। ३०.५९ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजनाको बेलिब्रिजमा क्षति पुग्नुका साथै निर्माण सामग्री तथा उपकरणहरू बगाएको छ। यस्तै १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनाको पहुँच सडक र आयोजनास्थल पुग्ने पुलमा समेत बाढीले क्षति पुर्‍याएको छ।

बाढीको प्रत्यक्ष प्रभाव छिमेकी धादिङ जिल्लामा समेत परेको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ विशालनगरका करिब १०० घरधुरीमा लेदो पसेको प्राधिकरणले जनाएको छ।

त्यस्तै त्रिपुरासुन्दरी गाउँपालिकाको नदी तटीय क्षेत्रमा रहेको प्रसिद्ध नरसिंह धाम मन्दिर र गुरुकुल शिक्षालय बाढीको उच्च जोखिममा परेका छन्।

बाढी आउनुको वास्तविक कारण पत्ता लगाउन तथा आरुघाटस्थित पुल बगाएपछि सो स्थानमा तत्काल बेलिब्रिज राख्न सकिने वा नसकिने विषयमा प्राविधिक अध्ययन गर्न प्राधिकरण र सडक विभागको संयुक्त टोली ड्रोनसहित प्रभावित क्षेत्रमा परिचालन भइसकेको छ।

प्राधिकरणले बुढीगण्डकी नदीको तटीय तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई आइतबार साँझसम्म नदी किनार र जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

नदीको बहाव केही घटेको देखिए पनि जोखिम अझै कायमै रहन सक्ने भएकाले जोखिमयुक्त पुल तथा सडकमा आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले दिएका निर्देशनहरू पूर्ण रूपमा पालना गर्न अनुरोध गरिएको छ। प्राधिकरणले बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्दै प्रभावित क्षेत्रमा खोज, उद्धार र प्रतिकार्यका कामलाई तीव्र रूपमा निरन्तरता दिइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *