बेनी-जोमसोम सडक पुनः सञ्चालनमा आएकामा चन्द्र ढकालद्वारा खुसी, उद्धार र पुनर्निर्माणमा खटिने टोलीको प्रशंसा

डिसी नेपाल
२६ असोज २०८३ २०:२३
8
Shares

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइएमई समूहको लगानीमा निर्माणाधीन मध्य कालीगण्डकी जलविद्युत आयोजनाको स्थलगत अवलोकन गरी फर्किएपछि बाढीले पुर्‍याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

कालीगण्डकी नदीमा हालै आएको भीषण बाढीले सडक, पुल, स्थानीय बस्ती र जनजीवनमा पारेको हृदयविदारक असर प्रत्यक्ष देख्दा मन स्तब्ध र भावुक बनेको उनले बताएका छन्।

प्रकृतिको विशाल रूपसामु मानिस कति निरीह रहेछ भन्ने बोध भए पनि ठूलो विपत्ति र प्रतिकूल परिस्थितिका बीच सडक, पुल तथा संरचनाको पुनर्निर्माण र मर्मत कार्य द्रुत गतिमा अघि बढिरहेको देख्दा आशा र ढाढस मिलेको अध्यक्ष ढकालले उल्लेख गरेका छन्।

अहोरात्र खटिएर गरिएको अथक प्रयासका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडक खण्ड पुनः सञ्चालनमा आउनु सुखद् र सकारात्मक पक्ष रहेको उनको भनाइ छ। सडक सञ्चालनसँगै स्थानीय बासिन्दा, यात्रु र मालसामान ढुवानीका लागि ठूलो राहत पुग्नुका साथै मुक्तिनाथ, जोमसोम, लोमान्थाङ र कोरला नाकासम्म पुग्ने दर्शनार्थी, पर्यटक तथा सर्वसाधारणको आवागमन सहज भएको उनले बताए।

विपद व्यवस्थापन, सडक पुनर्स्थापना र राहत कार्यमा देखाएको सक्रियताका लागि उनले नेपाल सरकार, गण्डकी प्रदेश सरकार तथा स्थानीय तहप्रति आभार व्यक्त गरेका छन्।

साथै, दिनरात नभनी फिल्डमा खटिएर सडक खुलाउन सफल भएका सडक विभाग, बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालयका प्राविधिक, कर्मचारी तथा सुरक्षा निकायका सदस्यहरूको समर्पणको उनले उच्च कदर गरेका छन्।

बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले प्रभावित परिवारजनमा समवेदना प्रकट गरेका छन्। भौतिक क्षति ठूलो भए तापनि सामूहिक संकल्प र आत्मबल त्योभन्दा बलियो भएकाले सबैको साथ, समन्वय र सहकार्यबाट यो संकट पार लगाएर छिट्टै अझ सबल रूपमा पुनरुत्थान हुने विश्वास उनले व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *