कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैं शुभकामना आदानप्रदान
काठमाडौं। नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकारहरू भुवन चन्द, चैत्यदेवी सिंह र वसुन्धरा भुसालले संयुक्त रूपमा ‘साथी राइड’को औपचारिक शुभारम्भ गरेका छन्।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा चलचित्रकर्मी, कलाकार, प्राविधिक, लेखक, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
संघका महासचिव सुनिल कटुवालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा वक्ताहरूले प्राकृतिक विपत्ति र बुढीगण्डकी क्षेत्रमा आएको बाढीबाट जनजीवन प्रभावित भएको सन्दर्भ उल्लेख गर्दै यस वर्षको दशैं सचेत र सामान्य रूपमा मनाउन आग्रह गरेका छन्।
चाडपर्वमा अनावश्यक तडकभडक गर्नुभन्दा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा विशेष जोड दिनुपर्ने उनीहरूको भनाइ थियो।
कार्यक्रममा विशिष्ट चलचित्रकर्मीहरू कृष्ण मल्ल, लय संग्रौला, रविन्द्र खड्का, आकाश अधिकारी, भुइँसाल लामा, मनोज आचार्य र घनश्याम खतिवडाले नेपाली कला, संस्कृति र चलचित्रले समाजको जनजीवन प्रतिबिम्बित गर्ने बताएका छन्।
उनीहरूले नेपाली जनशक्ति र प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै स्वदेशी सेवा तथा उत्पादनको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्। संघका अध्यक्ष केसीले घटस्थापनाको अवसरमा दसैँको शुभकामना आदानप्रदान गर्नुका साथै नेपाली जनशक्ति, रोजगारी र अर्थतन्त्रलाई आधार बनाएर सञ्चालनमा ल्याइएको साथी मोबिलिटी प्रालिको ‘साथी राइड’लाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका छन्।
सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमअन्तर्गत राइजिङ स्टार बोर्डिङ स्कुल र एनके डान्स ग्रुपले सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने सविता कार्की र सम्वृद्धि भण्डारीले दसैँ विशेष नृत्य प्रस्तुत गरेका थिए। त्यसैगरी, गायकहरू आनन्द कार्की, राजन चौलागाई, विनोद ढकाल, सुमित खण्डका र कृष्णराज भण्डारी तथा गायिकाद्वय सारिका घिमिरे र अनु गौतमले उत्कृष्ट सांगीतिक प्रस्तुति दिएका थिए।
कार्यक्रमकै अवसरमा ‘साथी राइड’ एप डाउनलोड गर्ने राइडर तथा प्रयोगकर्ताहरूमध्येबाट गोलाप्रथाद्वारा पाँच-पाँच जनालाई आकर्षक पुरस्कार प्रदान गरिएको थियो। छनोट भएका राइडरहरूलाई हेलमेट तथा प्रयोगकर्ताहरूलाई एयरबड वितरण गरिएको आयोजकले जनाएको छ। सांस्कृतिक प्रस्तुतिमा सहभागी कलाकारहरूलाई प्रमाणपत्र र विशिष्ट चलचित्रकर्मीहरूलाई उपहारस्वरूप कप प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका निर्वातमान अध्यक्ष दिनेश डिसी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्वअध्यक्ष तथा साहित्यकार राधेश्याम लेकाली, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापा, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी र चलचित्रकर्मीहरूको अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष लव प्याकुरेल लगायतको उपस्थिति रहेको थियो।
साथै, कलाकारहरू पुजना प्रधान, तेजुला खतिवडा, पवन केसी, श्रीदेव भट्टराई, पवन खतिवडा, जीवन थापा, ईन्द्रलामा खमम्वे, नवीन श्रेष्ठ, सुलेमान संकर, छुल्टिम गुरुङ, पुरन जोशी, लव शर्मा, किरण केसी, एनबी महर्जन, आरपी पन्त, वसन्त खत्री, रामशरण जंगम, सुवाष गजुरेल, उत्सव केसी, माधव खरेल, भोला अधिकारी, मीना पुरी, जयन्त रेग्मी, देवेन्द्र पाण्डे, अमर वली, कमलकान्त मैनाली, सपना श्रेष्ठ, पुकार भट्टराई, मानबहादुर थापा, नम्रता खरेल, दिनेश अवाल, सुमन सागर, दीपक अधिकारी, सुपा खनाल, रामेश्वर बुर्लाकोटी, कृष्ण सिवाकोटी, रामशरण कोइराला र झरना रिजाल लगायतको पनि सहभागिता रहेको थियो।
साथी मोबिलिटी प्रालिको विशेष सहयोगमा सम्पन्न यस कार्यक्रमले ‘साथी राइड’को प्रयोग विस्तार गर्नुका साथै नेपाली प्रविधि र स्वदेशी सेवाको प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमको सञ्चालन नेपाल चलचित्र कलाकार संघका सचिव गोपाल ढकाल ‘छन्दे’ले गरेका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment