सुडान-मिस्र सीमा नजिकै सुन खानीमा हवाई आक्रमण, १३ जना खानी मजदुरको मृत्यु
काठमाडौं । सुडान, मिस्र र लिबियाको त्रिदेशीय सीमा नजिकै रहेको एउटा सुन खानीमा शनिवार भएको भीषण हवाई आक्रमणमा परी कम्तीमा १३ जना खानी मजदुरको मृत्यु भएको छ भने २८ जना गम्भीर घाइते भएका छन्।
सुडानको द्वन्द्व र स्वास्थ्य अवस्थाको अनुगमन गरिरहेको मानवअधिकारवादी संस्था ‘सुडान डाक्टर्स नेटवर्क’ ले आइतबार यस घटनाको पुष्टि गरेको हो।
आक्रमणमा बाँचेका अब्देल-अजीज युसुफका अनुसार शनिवार बिहान पहाडी क्षेत्रमा रहेको सानो सुन खानीमा अचानक अज्ञात लडाकु विमानले बमबारी गरेको थियो। आक्रमणपछि थप बमबारी हुने डरले धेरै मजदुरहरू ज्यान जोगाउन भागभाग गरेका थिए।
‘एसोसिएटेड प्रेस’ का अनुसार भौगोलिक रूपमा विकट र स्वास्थ्य सुविधाको पहुँच सीमित भएकाले घाइतेहरूको उपचारमा कठिनाइ भइरहेको छ, जसका कारण मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ। हालसम्म आक्रमण कुन पक्ष (मिस्रको सेना, सुडानी सेना वा आरएसएफ) ले गराएको हो भन्नेबारे स्वतन्त्र पुष्टि भइसकेको छैन।
सुडान डाक्टर्स नेटवर्कका अनुसार मिस्रका अधिकारीहरूले सो सीमा क्षेत्रमा अवैध खनन गरिरहेका मजदुरहरूलाई ठाउँ खाली गर्न पटक-पटक चेतावनी दिँदै आएका थिए। आक्रमण भएको क्षेत्र मिस्रको क्षेत्राधिकारभित्र पर्ने बताइएको छ। यसअघि गत जुन महिनामा पनि मिस्रका सुरक्षा बलले सीमा नजिकै गैरकानुनी सुन उत्खनन र तस्करीमा संलग्न रहेको आरोपमा सयौँ विदेशी नागरिकहरूलाई नियन्त्रणमा लिएको थियो।
सुडानमा जारी गृहयुद्धमा सुनद्वन्द्व र युद्धको मुख्य आर्थिक स्रोत बनेको छ सुडानको अर्धसैनिक बल ‘र्यापिड सपोर्ट फोर्सेज’ ले दारफुर र कोर्डोफान क्षेत्रका सुन खानीहरूबाट अवैध रूपमा सुन बाहिर पठाएर आफ्नो सैन्य अभियानका लागि रकम जुटाउँदै आएको छ।
संयुक्त राष्ट्रसङ्घको सन् २०२४ को प्रतिवेदन अनुसार सुडानमा उत्खनन हुने ५० प्रतिशतभन्दा बढी सुन अवैध रूपमा तस्करी गरी देश बाहिर पठाइने गरिन्छ, जसले त्रिदेशीय सीमा क्षेत्रहरूमा सुरक्षा र निगरानीको ठुलो चुनौती खडा गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment