बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान
काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन्। उनी सोमबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्लीका लागि उडेका हुन्।
गृहमन्त्रीको कार्यभार सम्हालेयता गुरुङको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो। बिमस्टेकअन्तर्गत महत्त्वपूर्ण सहकार्यको क्षेत्रका रूपमा रहेको सुरक्षा क्षेत्रको उच्चस्तरीय संयन्त्रको यो बैठक पहिलोपटक भारतमा आयोजना हुन लागेको हो। सन् २०१८ मा काठमाडौँमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले यस संयन्त्रको परिकल्पना गरेको थियो।
मिति २०८३ असोज २७ गते (१३ अक्टोबर २०२६) मङ्गलबार नयाँ दिल्लीमा आयोजना हुने उक्त बैठकमा गृहमन्त्री गुरुङले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बैठकमा बिमस्टेकका साटै सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्रीहरूको सहभागिता रहनेछ।
बैठकमा बिमस्टेक क्षेत्रमा रहेका लागुपदार्थ ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी, आतङ्कवाद, विपद्जन्य सुरक्षा तथा साइबर अपराधजस्ता अन्तरदेशीय एवम् क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रवर्द्धन गर्न गहन छलफल हुनेछ।
सो क्रममा सुरक्षा क्षेत्रका बिमस्टेकस्तरीय विभिन्न संयन्त्रमा छलफल भएका विषय तथा दस्तावेजहरू पारित गरिनेछ भने संयुक्त घोषणापत्रसमेत जारी हुनेछ।
बैठकमा नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा एकीकृत उद्धार र राहतका लागि क्षेत्रीय सहकार्य बढाउने विषयलाई मुख्य प्राथमिकतामा राख्ने जनाइएको छ।
बिमस्टेक सदस्य मुलुकहरूमध्ये सबैभन्दा कम उमेरका गृहमन्त्रीका रूपमा रहेका गुरुङले भ्रमणका क्रममा आफ्ना समकक्षीहरूसँग द्विपक्षीय वार्ता गर्ने कार्यसूचीसमेत रहेको छ। बैठकमा सहभागी भएपछि उनी असोज २८ गते बुधबार स्वदेश फर्किनेछन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment