कांग्रेस महाधिवेशन सकियो, खुलामञ्च हिलाम्य र अस्तव्यस्त: दुवो रोपिएको हराभरा मैदान बन्यो कुरुप

डिसी नेपाल
२६ असोज २०८३ ११:४६

काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै उपसभापति र महामन्त्रीसहितका पदाधिकारीहरूको टुङ्गो लगाएको छ।

राजधानीको ऐतिहासिक खुलामञ्चमा आयोजित उद्घाटन तथा महाधिवेशनका विभिन्न कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएको भन्दै कांग्रेसका नेता तथा कार्यकर्ताहरू उत्साह मनाइरहेका छन्। तर, राजनीतिक रूपमा महाधिवेशन भव्य बने पनि त्यसको प्रत्यक्ष असर भने राजधानीको मुटुमा रहेको खुलामञ्चले भोग्नुपरेको छ।

महाधिवेशन सम्पन्न भइसकेपछि यतिबेला खुलामञ्चको अवस्था भने अत्यन्तै दयनीय र अस्तव्यस्त बनेको छ। यसअघि काठमाडौं महानगरपालिकाले विशेष पहल गरी खुलामञ्चलाई संरक्षण गर्दै दुवो रोपेर सुन्दर, हरियाली र आकर्षक बनाएको थियो।

तर, महाधिवेशनका क्रममा जम्मा भएको हजारौँको भीडभाड, सवारी साधनको चाप र निरन्तरको वर्षाका कारण त्यो सुन्दर मैदान अहिले हिलाम्य र कुरुप चौरमा परिणत भएको छ।

हिजोसम्म हरियो दुवोले ढकमक्क ढाकिएको खुलामञ्चमा अहिले दुवोको नामोनिसान भेट्न गाह्रो छ। मैदानभरि लेदो माटो, प्लास्टिकका फोहोरहरू, प्रचारप्रसार सामग्रीका टुक्राहरू र पानी जमेर बनेका साना-साना पोखरीहरू प्रस्टै देखिन्छन्।

महाधिवेशनका लागि बनाइएका अस्थायी मञ्च, त्रिपाल र कार्पेटहरू हटाउने क्रममा उप्किएका काठका फ्ल्याकहरू, राता कार्पेटका टुक्राहरू मैदानभरि लथालिङ्ग अवस्थामा छाडिएका छन्।

साथै, मञ्च निर्माण र व्यवस्थापनका लागि भारी सवारी साधन तथा मानिसहरूको बाक्लो आवतजावतले गर्दा मैदानको माटो उक्किएर चौर हिलाम्य बनेको छ।

सहरको खुला सास फेर्ने ठाउँका रूपमा विकास गर्न खोजिएको खुलामञ्चलाई भव्य कार्यक्रमपछि पूर्ववत् अवस्थामा फर्काउने वा सरसफाइ गर्नेतर्फ भने आयोजक पक्ष र सम्बन्धित निकायको ध्यान अझै पुग्न सकेको छैन।

सार्वजनिक तथा ऐतिहासिक सम्पदाको रूपमा रहेको खुलामञ्चलाई राजनीतिक कार्यक्रमका नाममा यसरी कुरुप बनाएर छाडिएकामा स्थानीयवासी र वातावरणविद्हरूले चिन्ता व्यक्त गरेका छन्।

कुनै पनि ठूला कार्यक्रम वा महाधिवेशन सकिएपछि उक्त स्थललाई पुनः पुरानै सुन्दर र सफा अवस्थामा फर्काउनु आयोजककै प्रमुख जिम्मेवारी हुने भन्दै तत्काल सरसफाइ र पुनर्निर्माणको काम सुरु गर्न स्थानीयले माग गरेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *