खुट्टा भाँचिएका अध्यक्षको चित्कार: ‘ग्यास छैन, आश्रमका ४० जना वृद्धवृद्धालाई कसरी पाल्ने?’
काठमाडौं। नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले एलपी ग्यासको अभावका कारण आश्रममा आश्रित ४० जना वृद्धवृद्धाको खाना पकाउन गम्भीर कठिनाइ भएको बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो पीडा व्यक्त गर्दै दाहालले दसैँजस्तो महान् चाड नजिकिँदै गर्दा आश्रममा खाना पकाउने ग्याससमेत उपलब्ध नभएको जनाएका छन्।
आफू खुट्टा भाँचिएर हिँडडुल गर्न नसक्ने अवस्थामा रहेको उल्लेख गर्दै उनले ४० जना बुबाआमाको भोक र पीडालाई बेवास्ता गर्न नसकिने र चुलो कसरी बाल्ने भन्ने चिन्ता बढेको बताए।
ग्यास अभावको विषयमा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै दाहालले भने, “यदि ग्यासको वास्तविक अभाव हो भने सरकारले तत्काल वैकल्पिक व्यवस्था गरी जनतालाई जानकारी गराओस्। यदि कृत्रिम अभाव सिर्जना गरिएको हो भने कालोबजारी गर्ने र २५ सयदेखि ३ हजार रुपैयाँसम्ममा ग्यास बेच्नेहरूलाई तत्काल छानबिन गरी कानुनबमोजिम कडा कारबाही गरियोस्।”
दसैँको मुखमा सर्वसाधारणलाई दुःख दिने र कालोबजारी गर्ने छुट कसैलाई नभएको उल्लेख गर्दै उनले ज्येष्ठ नागरिक, असहाय तथा बेसहारा व्यक्तिहरू आश्रित आश्रमहरूमा खाना पकाउने ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न सरकारसँग माग गरे।
सरकारले ग्यास अभावको वास्तविक अवस्था स्पष्ट पार्नुपर्ने, आवश्यक परे वैकल्पिक व्यवस्था गर्नुपर्ने र कृत्रिम अभाव एवम् कालोबजारी नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने जोड दिँदै उनले सम्बन्धित निकायलाई तत्काल समस्या समाधान गर्न आग्रह गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment