विराटनगर किङ्सले बागमती प्लास्टिकलाई बनायो अफिसियल होम पार्टनर

डिसी नेपाल
१ कार्तिक २०८३ १८:०३

विराटनगर। नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी विराटनगर किङ्सले बागमती प्लास्टिकलाई आफ्नो अफिसियल होम पार्टनरका रूपमा आबद्ध गरेको छ।

साझेदारीसम्बन्धी विराटनगरमा आइतबार भएको सम्झौतामा बागमती प्लास्टिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित राठी र विराटनगर किङ्सका निर्देशक स्वागत प्याकुरेलले हस्ताक्षर गरेका छन्।

सम्झौता हस्ताक्षर समारोहमा विराटनगर किङ्सका मालिक पारस लुनियाले खेलकुदले मानिसलाई जोड्ने काम गर्ने बताए।

उनले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटको न्युट्रल भेन्युका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि राज्यले खेलकुद पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिए।

क्रिकेटको विकासका लागि निजी क्षेत्रसहित सबै पक्षको लगानी र सहकार्य आवश्यक रहेको लुनियाको भनाइ थियो। उनले खेलकुद क्षेत्रको विकासमा सामूहिक प्रयासले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

विराटनगर किङ्सका निर्देशक स्वागत प्याकुरेलले आगामी प्रतियोगिताका लागि टिमको तयारी राम्रो रहेको बताए। उनका अनुसार टिमले भारतमा अभ्यास गरिरहेको छ। उहाँले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किङ्सलाई उपाधि दिलाउने लक्ष्यका साथ तयारी अघि बढाइएको जानकारी दिए।

बागमती प्लास्टिकसँगको साझेदारीले विराटनगर किङ्सको व्यावसायिक सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कार्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *