आइसिसी विश्वकप लिग-२: नेपाल र क्यानडा भिड्दै

डिसी नेपाल
१ कार्तिक २०८३ ६:४३
28
Shares

काठमाडौं।  ओमानमा जारी आइसिसी विश्वकप लिग-२ एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। अल अमरात क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।

नेपाल र क्यानडा दुवैका लागि अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउन आजको खेल अत्यन्तै महत्त्वपूर्ण छ। यस शृङ्खलामा सुरुआती दुवै खेल जितेर उच्च मनोबलमा रहेको नेपाल आज लगातार तेस्रो जित निकाल्दै एक खेल बाँकी छँदै शीर्ष ६ मा स्थान सुरक्षित गर्ने दाउमा छ। यता क्यानडालाई भने शीर्ष ६ को सम्भावना जीवित राख्न आजको खेल जित्नैपर्ने दबाब छ।

अङ्क तालिकामा नेपाल क्यानडाभन्दा एक अंकले अगाडि छ। नेपालले ३४ खेलबाट १३ जित, १९ हार र दुई खेल बराबरी खेल्दै २८ अंक जोडेको छ। सातौँ स्थानमा रहेको क्यानडाको ३५ खेलबाट ११ जित, १९ हार र पाँच खेलमा अंक बाँड्दै २७ अंक रहेको छ।

जारी शृङ्खलामा नेपालले पहिलो खेलमा क्यानडालाई २४ रन र दोस्रो खेलमा आयोजक ओमानलाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। क्यानडाले भने पछिल्लो खेलमा ओमानलाई ५८ रनले हराउँदै उत्कृष्ट पुनरागमन गरेको छ। नेपालले यस शृङ्खलाका दुवै खेलमा पहिले ब्याटिङ गर्दै प्रतिस्पर्धी योगफल बनाएकाले आजको खेलमा पनि टस र सुरुआती ब्याटिङले महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ।

नेपाल र क्यानडाबीच हालसम्म भएका ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले चार र क्यानडाले दुई खेल जितेका छन्। आजको खेलमा क्यानडालाई पराजित गर्न सके नेपालले शीर्ष ६ मा स्थान सुनिश्चित गर्नुका साथै शृङ्खलाको अन्तिम खेलमा ओमानविरुद्धको दबाब समेत कम गर्नेछ। पराजित भएको खण्डमा भने नेपालले अन्तिम खेलमा ओमानलाई अनिवार्य हराउनुपर्ने हुन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *