गेटामा एमबिबिएसका लागि ५० र नर्सिङमा २० सिट निर्धारण, बिपी प्रतिष्ठान र सेनाको सिट संख्या बढाइयो

डिसी नेपाल
३० असोज २०८३ २१:३०
20
Shares

काठमाडौं । कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले उक्त महत्त्वपूर्ण निर्णय गरेको हो। सोही बैठकले गेटामा नर्सिङतर्फ २० सिट निर्धारण गर्ने निर्णयसमेत गरेको छ।

बैठकले सुदूरपश्चिमको स्वास्थ्य शिक्षा र उपचारमा नयाँ युगको सुरुवात गर्दै गेटा विश्वविद्यालयलाई औपचारिक रूपमा शैक्षिक कार्यक्रम सञ्चालनका लागि मार्गप्रशस्त गरेको छ। यस निर्णयसँगै लामो समयदेखि प्रतीक्षा गरिएको यस क्षेत्रका विद्यार्थीहरूका लागि आफ्नै प्रदेशमा गुणस्तरीय चिकित्सीय शिक्षा हासिल गर्ने बाटो खुलेको छ।

यसैबीच, बैठकले शैक्षिक क्षमता र मापदण्डको मूल्याङ्कन गर्दै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसतर्फको सिट सङ्ख्या वृद्धि गरी १३० पुर्‍याउने निर्णय गरेको छ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ तथा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ मा उल्लेखित व्यवस्था, चिकित्सा शिक्षा आयोगद्वारा स्वीकृत कार्यक्रमगत न्यूनतम र प्रत्यायन मापदण्ड, चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्याङ्कन तथा सिट निर्धारणसम्बन्धी एकीकृत कार्यविधि, २०८३ र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज कार्यक्रम सञ्चालन तथा व्यवस्थापनसम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम यी शैक्षिक कार्यक्रम तथा सिट सङ्ख्या निर्धारण गरिएको आयोगले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *