दशैँ–तिहारमा अलैँची टिप्न चटारो : दिनभर बगानमा रातभर भट्टीमा
ताप्लेजुङ। यतिबेला दशै सुरुवात भईसक्यो तर ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन्। टिपाईको मुख्य सिजन चलिरहेका बेला उनीहरू दशैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन्। बिहानदेखि बेलुकीसम्म बगानमै खटिएका किसान धेरैजसो रात पनि अलैँची भट्टीमै बस्ने थालेका छन्।
फक्ताङलुङ गाउँपालिका–६ का किसान विर्ख लिम्बूका अनुसार गाईबस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर फर्किन्छन् बाँकी सबै बगानमै बास बस्छन्।
अलैँची टिप्ने समय बित्यो भने वर्षभरको मेहेनत मुसा, तथा अन्य जंगली जनावरहरुले खाई दिने भएकाले यतिबेले किसानहरु अलैची बगानमै व्यस्त भएको लिम्बूले बताए।
फुङ्लिङ नगरपालिका–७ का किसान खाङडु शेर्पा झन करिब करिब एक महिनादेखि बगानमै बसिरहेका छन। दशैँ त्यहीँ अलैँची बगानमै मनाउने तयारी गरेका हुनुहुन्छ। ‘४० वर्षदेखि अलैँची खेती गरिरहेको छु,’ शेर्पाले भने,‘छिमेकी भारतको सिक्किमबाट बिरुवा ल्याएरै सुरु गरेका थियौँ।’
शेर्पाको ८० रोपनी क्षेत्रफलमा अलैची बगान विस्तार गरेका छन्। टिपाईपछि छोडाउने, सुकाउने र भट्टीमा अलैँची सुकाउँने कार्य हुने गर्दछ।
ताप्लेजुङमा बेशी क्षेत्रमा भदौको पहिलो सातादेखि र लेकाली क्षेत्रमा मंसिरसम्म अलैँची टिपाइ हुने गर्दछ। जिल्लाका नौं स्थानीय तहमध्ये फक्ताङलुङ–७ को ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँची खेती हुन्छ। हाल करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती भइरहेको छ।
अलैँचीको मूल्य पनि किसानलाई उत्साहित पार्ने खालको छ। शुक्रबार(आज)ताप्लेजुङमा प्रतिमन (४० केजी) खलैँचीको मूल्य ८८ हजार रुपैयाँमा खरिद–बिक्री भइरहेको व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रविर रेग्मीले बताए।
अलैँचीले रोजगारी पनि सिर्जना गरेको छ। बगानमा काम गर्ने मजदुरले दैनिक ५०० देखि ८०० रुपैयाँसम्म ज्याला पाउँछन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment