लगानी बोर्डले भन्यो– उपहार लिनेदिने कार्य स्वीकार्य छैन

डिसी नेपाल
३० असोज २०८३ २०:५६
4
Shares

काठमाडौं। लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने प्रचार भ्रामक र तथ्यहीन भएको जनाएको छ।

कार्यालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा असोज २९ गते कार्यालयको जानकारी र अनुमति बिना मिठाइ तथा बिस्कुटका टोकरी ल्याइएको र त्यसैलाई आधार बनाएर कर्मचारीले अनुचित उपहार लिएको भन्दै प्रचार गरिएको उल्लेख छ।

कार्यालयका अनुसार बिहीबार दिउँसो १४ः३० बजे प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबसहित कर्मचारीहरू बैठकमा रहेका बेला युट्युब च्यानलका व्यक्ति अनुमति बिना कार्यालय प्रवेश गरी भिडियो खिचेका थिए। उनले कर्मचारीले ठेकेदारबाट रक्सी, आइफोन र मिठाईलगायतका उपहार लिएको आरोप लगाउँदै भिडियो प्रसारण गरेका थिए।

कार्यालयका सहसचिव एवं प्रवक्ता भुपेन्द्र थापाका अनुसार परियोजनाका प्रतिनिधि बताउने व्यक्तिले अनुमति र जानकारी बिना मिठाइ तथा बिस्कुटका टोकरी कार्यालयमा ल्याएका थिए। उक्त घटनालाई कर्मचारीले अनुचित उपहार लिएको भन्दै प्रस्तुत गर्नु गलत भएको कार्यालयको भनाइ छ।

कार्यालयले कर्मचारीका लागि कुनै पनि किसिमका उपहार लिनेदिने कार्य स्वीकार्य नहुने स्पष्ट पार्दै घटनाबारे भ्रामक प्रचार गरी कर्मचारीको मानमर्दन र मनोबल गिराउने गतिविधि रोक्न आग्रह गरेको छ। अन्यथा आवश्यक कानुनी उपचार खोज्ने चेतावनी दिँदै कार्यालयले सुशासन कायम गर्ने सरकारी अभियानप्रति आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *