काठमाडौं महानगरपालिकाले सुरु गर्यो बाइक एम्बुलेन्स सेवा
काठमाडौं। काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बिरामीसम्म छिटो पुगेर प्राथमिक उपचार उपलब्ध गराउने उद्देश्यले बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आज काठमाडौँ प्लाजाबाट सेवा प्रारम्भ गर्दै बाइक एम्बुलेन्स नेपाल एम्बुलेन्स सेवालाई हस्तान्तरण गरेकी हुन्।
सेवा प्रारम्भका क्रममा कार्यवाहक प्रमुख डंगोलले चारपाङ्ग्रे एम्बुलेन्स ट्राफिक जामका कारण समयमै घटनास्थलमा पुग्न नसक्ने अवस्थालाई ध्यानमा राखेर बाइक एम्बुलेन्स सञ्चालनमा ल्याइएको बताइन्।
‘एम्बुलेन्स भन्नेबित्तिकै बिरामी बोकेर अस्पताल जाने सवारीसाधन भन्ने बुझिन्छ। तर, हामीले जोखिममा रहेका बिरामी भएको ठाउँमा आकस्मिक स्वास्थ्य सेवाको तालिम प्राप्त स्वास्थ्यकर्मी पुर्याउन यो सेवा थालेका हौँ,’ उनले भनिन्।
उनका अनुसार जीवन बचाउन महत्त्वपूर्ण मानिने ‘गोल्डेन आवर’ अर्थात् सुरुवाती केही मिनेटभित्रै बिरामीसम्म दक्ष स्वास्थ्यकर्मी पुर्याउन सके ज्यान जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बाइक एम्बुलेन्समा खटिने आकस्मिक स्वास्थ्यकर्मीको टोलीले चारपाङ्ग्रे एम्बुलेन्स घटनास्थलमा पुग्नुअघि बिरामीको प्राथमिक उपचार गर्नेछ। साथै, बिरामीको अवस्था थप बिग्रिन नदिन आवश्यक उपचार उपलब्ध गराउनेछ।
त्यसपछि चारपाङ्ग्रे एम्बुलेन्स पुगेपछि बिरामीलाई थप उपचारका लागि अस्पताल लगिने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment