निषेधित क्षेत्र घुम्ने विदेशी पर्यटकबाट बर्सेनि करोडौँ राजस्व
गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकबाट सरकारले बर्सेनि करोडौँ रुपैयाँ राजस्व सङ्कलन गर्दै आएको छ। मुस्ताङको उपल्लो क्षेत्र र मनाङको नार फू क्षेत्रमा अनुमति लिएर भ्रमण गर्ने पर्यटकबाट मात्रै गत आर्थिक वर्षमा २१ करोड ६९ लाख ९७ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार उपल्लो मुस्ताङमा १० दिनको भ्रमण अनुमति लिएका एक हजार ८५५ पर्यटकबाट प्रतिव्यक्ति ५०० अमेरिकी डलरका दरले शुल्क उठाइएको थियो। त्यस्तै, एक दिनको भ्रमण अनुमति लिएका दुई हजार ५६९ पर्यटकबाट प्रतिव्यक्ति ५० अमेरिकी डलर सङ्कलन भएको थियो।
मनाङको नार फू क्षेत्रमा सात दिनको भ्रमण अनुमति लिएर पुगेका एक हजार ३३८ पर्यटकबाट प्रतिव्यक्ति १०० अमेरिकी डलरका दरले प्रवेश शुल्क उठाइएको आयोजनाले जनाएको छ। निषेधित क्षेत्र प्रवेशको शुल्क अध्यागमन कार्यालयमार्फत सङ्कलन हुने र उक्त रकम सङ्घीय सरकारको राजस्वमा जम्मा हुने गरेको डा. कडरियाले बताए।
निषेधित क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकबाट आर्थिक वर्ष २०८१/०८२ मा ३० करोड १७ लाख ५२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो। त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा २३ करोड ८९ लाख ६६ हजार रुपैयाँ सङ्कलन भएको थियो। सरकारले तिब्बतसँग सीमा जोडिएका केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। उपल्लो मुस्ताङ र नार फू क्षेत्रमा अधिकांश पर्यटक पदयात्राका लागि पुग्ने गरेका छन्।
निषेधित क्षेत्रबाहेक अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गर्ने विदेशी पर्यटकबाट पनि ठूलो रकम राजस्व सङ्कलन हुने गरेको छ। गत आर्थिक वर्षमा यस क्षेत्रबाट ६७ करोड ७५ लाख ९० हजार ९८६ रुपैयाँ राजस्व उठेको आयोजना प्रमुख कडरियाले जानकारी दिए।
आयोजनाले दक्षिण एसियाली मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार रुपैयाँ र अन्य मुलुकका पर्यटकबाट भ्याटसहित तीन हजार रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ। गत आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पाँच लाख आठ हजार ४७६ विदेशी पर्यटक पुगेका थिए। तीमध्ये दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार १४५ र अन्य मुलुकका एक लाख २४ हजार ३३१ पर्यटक रहेका थिए। यस क्षेत्रमा सबैभन्दा बढी तीन लाख ७५ हजार ७९७ भारतीय पर्यटकले भ्रमण गरेका थिए।
पर्यटकको सङ्ख्या बढेसँगै प्रवेश शुल्कबाट प्राप्त हुने आम्दानी पनि बढेको छ। आर्थिक वर्ष २०८१/०८२ मा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक प्रवेश शुल्कबापत कुल ४६ करोड ४८ लाख ८१ हजार ४८४ रुपैयाँ सङ्कलन भएको थियो। अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा यस्तो रकम ३८ करोड ९४ लाख ६१ हजार ४८३ रुपैयाँ थियो।
आयोजना कार्यालयका अनुसार पर्यटक शुल्कलगायतका स्रोतबाट प्राप्त आम्दानी संरक्षणसम्बन्धी गतिविधि सञ्चालन तथा पर्यटन प्रवर्द्धनका कार्यक्रममा खर्च गरिँदै आएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment