दशैं विलासितातर्फ गइसक्यो, संस्कार–संस्कृति जोगाउन जरुरी छ : अभिनाश श्रेष्ठ

डिसी नेपाल
३ कार्तिक २०८३ ९:४९

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति अभिनाश श्रेष्ठका लागि दशैँको अर्थ उमेर, परिवार र आफन्तसँगको सम्बन्धसँग जोडिएको छ । बाल्यकालमा दशैँ आउँदा हुने उत्साह र अहिलेको अनुभूतिबीच ठूलो अन्तर रहेको उनी बताउँछन्। उमेर बढ्दै जाँदा चाडपर्वप्रतिको उत्साह क्रमशः घट्दै जाने र दशैँको वास्तविक आनन्द परिवार तथा कुटुम्बसँगै रहँदा प्राप्त हुने उनको अनुभव छ ।

‘दशैँ मनाउने भनेको सबभन्दा मुख्य त परिवार र कुटुम्बहरूका लागि हो। परिवारका सबै मान्छे सँगै जोडिएर मनाउँदा जुन आनन्द आउँछ, त्यो एक्लाएक्लै हुँदा आउँदैन,’ श्रेष्ठ भन्छन्।

श्रेष्ठका छोराछोरी बेलायत र अस्ट्रेलियामा छन्। यस्तो अवस्थामा श्रीमती र आफू मात्रै घरमा बसेर दशैँ मनाउँदा पहिलेको जस्तो उत्साह नहुने उनी बताउँछन्। यस्तो अनुभव उनको मात्रै नभएर विदेशमा रहेका छोराछोरीलाई सम्झिरहेका अभिभावक र नेपालमा रहेका परिवारलाई सम्झिरहेका विदेशस्थित नेपालीहरूको साझा अनुभूति भएको उनको भनाइ छ।

उनले भने,‘छोराछोरी विदेशमा अनि यहाँ बा–आमा तड्पिरहेका हुन्छन् । दशैँ भनेको उमेर, परिवार र कुटुम्बहरू जोडिएर वा भेटेर मनाउने हो । यसको सुख पनि त्यहीअनुसार बाँडिन्छ जस्तो लाग्छ ।’

श्रेष्ठ आफ्नो बाल्यकालको दशैँ सम्झँदा पिङ, टीका, जमरा, नयाँ लुगा र मासुको स्वादलाई विशेष रूपमा स्मरण गर्छन्। त्यतिबेला दशैँको प्रतीक्षा नै पिङ खेल्नका लागि हुने गरेको उनको अनुभव छ ।

गाउँमा रोटेपिङ र लिङ्गे पिङको रमाइलो हुन्थ्यो। टीका र जमरासँगै गाउँमा खसीबोका काटिने र घरमा मासु पाक्ने कुराले पनि दशैँलाई विशेष बनाउँथ्यो।

सानैदेखि पशुबलि मन नपरे पनि त्यस समयको सामाजिक परिवेशमा दशैँमा मासु खान पाउनु आफैँमा ठूलो कुरा भएको उनी बताउँछन्। अहिले सहरबजारमा जुनसुकै बेला मासु किन्न पाइन्छ, तर उनको बाल्यकालमा मासु खान दशैँ कुर्नुपर्ने अवस्था थियो। त्यसैले पनि त्यतिबेलाको दशैँ धेरै कुरासँग जोडिएको हुन्थ्यो।

नयाँ लुगा लगाउने रहर पनि उनको स्मृतिमा उत्तिकै ताजा छ । बालबालिकाले परिवारको आर्थिक अवस्था नबुझ्ने भएकाले आफूलाई मन परेको जुत्ता र लुगा किन्न बा–आमासँग जिद्दी गर्ने गरेको उनी सम्झन्छन् ।

श्रेष्ठका अनुसार अहिले नेपाली समाजमा आएको परिवर्तनले दशैँको स्वरूप पनि बदलिएको छ । करिब ६०–६५ वर्षअघिको र अहिलेको नेपालबीचको अन्तरले चाडपर्व मनाउने तरिका मात्र नभई त्यसप्रतिको अनुभूति पनि परिवर्तन गरेको छ।

पहिले फूल, अक्षता, जमरा र बूढापाकाबाट पाइने आशीर्वादमै मानिस रमाउँथे। अहिले भने महँगा गाडी, टेलिभिजन, कार्पेट र घर सजाउने सामग्री किन्ने प्रवृत्ति बढेको उनको बुझाइ छ ।

‘अहिले त विलासितातर्फ गइसक्यो दशैँ,’ उनी भन्छन्, ‘हाम्रो बाल्यकालमा टीका र जमरामै रमाउँथ्यौँ। बूढापाकाको आशीर्वाद पैसाभन्दा पनि ठूलो कुरा थियो ।’

टीका लगाइसकेपछि दिनभरि जम्मा भएको दक्षिणा घरमा आएर गन्ने र कति पैसा पाइयो भनेर हिसाब गर्ने बाल्यकालीन सम्झना पनि उनलाई ताजा लाग्छ । तर अहिले हजारौँ रुपैयाँ दक्षिणा दिएपनि बालबालिका सन्तुष्ट नहुने गरेको उनको टिप्पणी छ । समयसँगै मानिसको मानसिकता, आवश्यकता र सन्तुष्टिको आधार परिवर्तन भएको उनी बताउँछन्।

नेपाली साहित्यमा दशैँको स्थानबारे श्रेष्ठको धारणा छ,‘साहित्यले समाजका अनुभव र स्मृतिलाई संरक्षण गर्छ। लेखकहरूले आफ्ना कथा, उपन्यास तथा अन्य कृतिमा दशैँ, तिहार, देउसीभैलो र लोकजीवनका प्रसङ्ग समेट्नुको उद्देश्य पनि तिनलाई लोप हुन नदिनु हो। लोकजीवनका कवि, लेखक र कलाकारले आफ्ना रचनामार्फत चाडपर्वको सामाजिक तथा सांस्कृतिक महत्त्व अभिव्यक्त गर्दै आएका छन् ।’

चाडपर्वसँग सम्बन्धित सिर्जनामा अभिव्यक्तिको स्वतन्त्रतासँगै सर्जकको जिम्मेवारी पनि महत्त्वपूर्ण हुने उनी बताउँछन्।

श्रेष्ठ विदेश तथा नेपालभित्र रहेका सबै नेपालीलाई दशैँ र तिहारको शुभकामना दिँदै परिवारबाट टाढा रहेका सदस्यहरूबीचको भावनात्मक सम्बन्धलाई सम्झन्छन्। उनका लागि दशैँको मूल खुसी महँगा सामानमा नभई परिवार, आफन्त र प्रियजनसँगको सामीप्यमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *