श्रीनवदुर्गाभवानीजी

हृषीकेश
३ कार्तिक २०८३ ७:५३
20
Shares

श्रीमहादेवी ॥

“देवि प्रपन्नार्तिहरे प्रसीद प्रसीद मातर्जगतोऽखिलस्य । प्रसीद विश्वेश्वरि पाहि विश्वं त्वमीश्वरी देवि चराचरस्य ॥”

जे दिव्य छ, त्यो देवी हो। दिव्यताले युक्त हुनु नै देवी हो। अस्तित्व दिव्य छ; देवी हो। देवीका स्वअभिव्यक्त अवयव नै दिव्य छन्। देवीको स्वरूपको दैवी ज्यामिती प्रेमको ज्यामिती हो, सूक्ष्मदेखि भयानक नकारात्मकताबाट हाम्रा लागि मातृवात्सल्य प्रेमले युक्त प्रेमकवच हो, प्रेमको ज्यामिती हो-आकृति प्रेमको हो।

देवीको दर्शनमा प्रेमको दर्शन हुन्छ। प्रेमले दिन्छ। प्रेमले दिन्छ मात्रै। दिइरहन्छ। नथाकिकन दिइरहन्छ। कहिल्यै नथाकी दिई नै रहन्छ। किनभने प्रेम निष्काम हो। हो, प्रेम निष्काम हो। निःस्वार्थ-निष्काम अनन्त हुन्छ! प्रेम अनन्त छ, प्रेममा कमी छैन। त्यही भएर प्रेमले दिइरहन्छ! अनन्तले जति दिए पनि अनन्त नै रहिरहन्छ! कहिल्यै सकिन्न।

“ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते। पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते॥ ॐ शान्तिः शान्तिः शान्तिः॥”

-अतः दिइरहने अनन्त निष्काम प्रेमले सकामलाई सकाम दिन्छ, अनि ऊ मात्रै देखेर उसकै हुन आएको निष्कामलाई निष्काम प्रेम दिन्छ। तर, प्रेमले दिन्छ। किनभने दिनु देवी हो। देवी प्रेम हो! बस। प्रेम! केवल प्रेम। देवीको हृदयको विराटता कसैले पनि व्याख्या गर्न सकेनन्। सक्नेहरू मौन भैगए, देवीको प्रेमको दर्शन गर्नेहरू मौन भैगए।

प्रेम अनन्त छ, शब्दको सीमा छ। मौनतामा अनन्त छ, अनन्तमा मौनता छ। मौनता अनन्त छ, अनन्त मौन छ। प्रेम मौन छ, मौनले मौनको दर्शन गर्छ र मौन हुन्छ। मौनता मौनतामा घोलिन्छ र मौन स्वरूप भैजान्छ। द्रष्टा दृश्यको दर्शनले दृश्य भैजान्छ, दर्शन भैजान्छ, तत्त्व भैजान्छ।

द्रष्टा र दृश्यको भेद-दूरी राख्ने दृष्टि विलय भैजान्छ, द्रष्टा र दृश्य एकै भैजान्छ, दर्शन भैजान्छ, तत्त्व भैजान्छ। त्यही भएर दृश्यको दर्शनले दृश्यको गुण द्रष्टामा अन्जानमै, अबोधमै सरिसक्छ, देवीजीको दर्शनले उहाँका गुण द्रष्टामा युक्त हुन थाल्छन्! द्रष्टा प्रेमयुक्त हुन थाल्छन्, विवेक, बुद्धिमता, पराक्रम, सौर्य… प्रेम देवी हो, करुणा हो।… आदि-आदि यी सब लगायत अनन्ता देवीजीका अनन्त गुण… द्रष्टा यी गुणयुक्त हुन शनैः-शनैः हुन थाल्दछन्!

देवीजीको प्रेमले देवीका संवेदनशील चेतना, जागृत जागरणयुक्त एक द्रष्टा हुन थाल्दछ। आफूमा अस्तित्व झङ्कृत हुन थाल्दछ, अस्तित्वको झङ्कार आफूमा झङ्कृत हुन थाल्दछ।

चेतन अस्तित्वको चेतनाको स्पन्दन अनुभूत हुन थाल्दछ, अस्तित्वमा चैतन्य रूपले व्याप्त हुनुभएकी देवीजीको ऊर्जा झङ्कार महसुस हुन थाल्दछ, यो अस्तित्वले फेरिरहेको विराट श्वाससँगै ऊ श्वास फेर्न थाल्दछ, अस्तित्वको धड्कनको स्पन्दन उसको धड्कन स्पन्दित हुन थाल्दछ!!! होशियार!!! होशियारी!!! होशियार हुनु संवेदनशीलताको सही अर्थ हो। सजग! सजगता! आफूमा प्रेमकोमलता… हो-संसारप्रति कोमल-प्रेमदृष्टि हो।

तब ऊ करुणाले युक्त हुन्छ, विवेकले युक्त ऊ अस्तित्वप्रति प्रेमले युक्त हुन्छ… तब त देवीका कार्यमा देवी अभिव्यक्त दर्शित हुन थाल्दछ… जस्तो कि एक सानो बालकको कोमल मिठो आवाज देवी हो। कत्ति मिठो आवाज! गाईको ‘बाँ’ देवीको पुकार हो।

कुकुर भैरवका रूप हुन्। प्रेमले युक्त एक कुकुर छेवैमा आएर खाना माग्ने बहानामा आ-भित्रको अपार प्रेम अभिव्यक्त गर्न पुच्छर हल्लाउँदै आश गर्ने भावभङ्गीमा ऊ प्रस्तुत भैदिन्छ, तब देवीजीको दर्शन हुन्छ, मेरै देवी यो स्वरूपमा आउनुभो।

एक जनावरको माध्यमबाट अदृश्य प्रेम आफैँप्रति, त्यस द्रष्टाप्रति प्रसारण गर्दै… त्यस्तै कि एक गाई… गाई त अझै सर्वोच्च, साक्षात् देवीजी नै, सबैभन्दा अपार… गाईप्रति चरम प्रेममा पुगे मोक्ष नै दिन्छिन् भन्छन् परमपूजनीय शास्त्रहरू… यी त जनावर स्वरूप रहे… तिनका व्यवहार, तिनका हेराइ, अभिव्यक्ति देवीका प्रेमाष्पद द्रष्टाभाव हुन्… जनावरका हेराइ देवीका हेराइ हुन्, देवीका साक्षी भाव हुन्! एक मुमुक्षुको धर्मपालनका निरीक्षण हुन्…

“या देवी सर्वभूतेषु चेतनेत्यभिधीयते। नमस्तस्यै॥ नमस्तस्यै॥ नमस्तस्यै नमो नमः॥”

“जो देवीजी सबै प्राणीहरूमा चेतना कहलाउनुहुन्छ, उहाँलाई बारबार, बारम्बार, अनन्त कोटिबार साष्टांग दण्डवत् नमन छ॥”

त्यस्तै बिरुवा-बोट… बिरुवाको हुर्काई देवीका कार्य हुन्। फूलको फुलाई देवीका दिव्य मुस्कुराहट हुन्। नदीनाला, खोला… नदीका शालीन-भव्य बगाई देवीका मग्नता हुन्। खोला-झरनाका छङछङ महादेवी श्रीमहासरस्वतीजीका वीणागीत… हिमालयको चहकाई देवीका चहक हुन्। ताराका चम्काई देवीका दिव्यमाथमा सौन्दर्यप्रसाधन हुन्। चन्द्रमाको कान्ती देवीको चन्द्रमुहारका कान्तीका अंश हुन्। सूर्यदेवका प्रचण्ड तेज देवीका तेजका अंश हुन्, सूर्यनारायणका पालन देवीका पालन हुन्। वायुमण्डलका पृथ्वीउपर रक्षा, धरतीउपर देवीका सुरक्षा कवच हुन्। धरती नै देवी हुन्।

सृष्टि देवी हुन्, स्थिति देवी हुन्। त्यस्तै पर्वत, हिमालय… हिमालयजी त देवीजीका पूज्य पिताजी नै हुनुभो… त्यस्तै सिङ्गो प्रकृति… अनन्त विस्तारका सिङ्गो आकाश… तारा सारा, ग्रह-नक्षत्र, आकाशगङ्गा, ब्रह्माण्ड… अनन्तकोटी ब्रह्माण्ड… यी त उहाँका अपार लीलाका अति सूक्ष्मतर अंश मात्र… सबैतिर, सबैमा चेतनाको रूपमा रहनुभएकी देवी… अह्हो!!!

यसरी अनन्त विस्तारमा प्रसारित अनन्तकोटि ब्रह्माण्ड उहाँका अपार लीलाका अति सूक्ष्मतर अंश मात्र हुँदा, तीभन्दा पर त्रिकालातीत, त्रिगुणातीत, निर्गुणात्मिका हाम्री देवी! जय हो! अतः यसरी सर्वोच्च प्रेम देवी हो। बाँकी संसारका प्रेम त उहाँका अंश मात्र हुन्, सामान्य विस्तार मात्र हुन्।

यसरी अस्तित्वका हरेक इकाइका सबैले हामीउपर प्रेम बर्साइरहेछन्! देवीको स्वरूप नै बर्साइरहने खालको छ; आशीर्वाद, अभय, विश्वास, आत्मविश्वास, “म छु नि किन आत्तिन्छस्!” भन्ने निर्धक्कता, सत्प्रयासका खातिर हिम्मत-आँट, प्रसन्नता-खुसी-उत्सव, चाडपर्व यिनै बुझ्ने यात्राका लागि रमाइलो देउरालीको चौतारी हुन्!

प्रेमको चरम घनत्व देवीका श्रीचरणमा पुगेर स्थित हुन्छ। देवीका लीलारूप संसार देवीका प्रेमका अभिव्यक्ति हुन्… सृष्टिमा चोट पुर्‍याउँदा देवीलाई चोट पर्नु स्वतः! प्रेममा चोट पुर्‍याउँदा देवीलाई चोट पुग्दछ… प्रेमबाट आफैँमा बर्सिने अनवरत कल्याणमा टुट पर्दछ, त्यसपछि कष्ट आइलाग्छन्।

त्यसपछि देवी लयरूपको लीला गर्नुहुन्छ सायद… अतः देवीको उपासना उहाँको हृदय बुझ्ने प्रयास हो… महाकारण उहाँ, संसार यो उहाँको महाकार्य हो, यिनलाई बुझ्ने प्रयास हो… उहाँका प्रेमभावना बुझ्ने प्रयास हो… र, उहाँकै भावनानुसार भैदिएर धर्मयुक्त जीवन हुँदा मोक्षदा उहाँले प्रदान गर्नुहुने उहाँको हाम्रा लागि सुन्दरतम प्रेमोपहार—मोक्ष प्राप्त गर्ने यात्रा हो…

होशियार हुनु संवेदनशीलताको सही अर्थ हो। सजगता संवेदनशीलताको सही अर्थ हो! अस्तित्वलाई हानि नपुऱ्याई देवीका श्रीचरण उपासनातातर्फ यात्राका खातिर मुख्यतम सरजाम! संवेदनशीलता!!! यही संवेदनशीलता प्रेमका अनेक गुणमध्ये मुख्य गुण!!! आफैँमा प्रेमकोमलता हो-संसारप्रति कोमल-प्रेमदृष्टि हो। प्रेम सत्ता हो, स्थिति हो, संस्थिति हो, अवस्थिति हो, पालन हो, भरण हो-पोषण हो, प्रेम देवी तत्त्व हो, देवी शक्ति हो, ‘फेमिनाइन एनर्जी’! प्रेम देवी हो, करुणा हो।

अतः देवीको उपासना उहाँको हामीउपर मातृवात्सल्य प्रेम-परम प्रेमरूपमा असीम योगदानको कदर हो, उहाँप्रतिको कृतज्ञता हो। संसार दनदन आगोझैँ दन्किरहेको महाकष्टका लप्का हुन्, यो मृत्युलोक हो।

दनदन आगोका लप्काझैँ अनेक पीडामा आजीवन जलाउँदै यहाँ सबसे उच्चतम, सबैभन्दा गहिरो कष्ट-महाकष्ट; मृत्यु मस्त नाचतछ! यसमा जल्न आइपुग्ने नश्वर पुनर्जन्म दुःखालय हो, श्रीमद्भगवद्गीता, अध्याय आठ, श्लोक पन्ध्रमा खुद भगवान् श्रीकृष्णबाट मर्जी भएकै हो;

“मामुपेत्य पुनर्जन्म दुःखालयमशाश्वतम्। नाप्नुवन्ति महात्मानः संसिद्धिं परमां गताः॥”

देवीको उपासना यो जलनबीच परम शीतलता दिने कवच हो अनि उहाँको उपासना अझै अगाडि गएर फेरि दुःखमा जन्मन गलत बाटो आँखा चिम्लेर कुदिरहेको यस क्षणभङ्गुर जीवनलाई रोक्दै फर्काउँदै सही बाटो-उहाँका श्रीचरणमा, मोक्षरूप; अमरत्वमा, अमर जीवनमा रूपान्तरण गर्ने महाकार्य हो; मानवजीवनको एक मात्र उद्देश्य!

“चितिरूपेण या कृत्स्नमेतद् व्याप्य स्थिता जगत्। नमस्तस्यै॥ नमस्तस्यै॥ नमस्तस्यै नमो नमः॥”

“जो देवीजी चैतन्यरूपले यस सम्पूर्ण जगत्लाई व्याप्त गरेर स्थित हुनुहुन्छ, उहाँलाई बारबार, बारम्बार, अनन्त कोटिबार साष्टांग दण्डवत् नमन छ॥”

सर्वत्र व्याप्ति रहनुभएकी देवीको सेवा अस्तित्वको सेवा हुँदा देवीको सेवा हुन्छ। प्रेमको सेवा हो।

देवी सबैभन्दा उच्चतम, सबैभन्दा गुह्यतम, अनि आँखा खुल्लाको खुल्लै रहने, अवाक् तुल्याउने शब्दातीत ‘रेभलेसन’ हो। देवीको व्याख्या छैन!!! असम्भव!!! उहाँको व्याख्या सम्भव छैन!!! सबै उहाँ!!! निर्गुण निराकारदेखि सगुण साकारसम्म!!! सबै उहाँ!!! बाफ्रे!!! शून्यदेखि अनन्त, अनेक रूप-विश्वरूप, दृश्य-अदृश्य, ज्ञात-अज्ञात… सबै उहाँ… व्याख्येय-अव्याख्येय उहाँ त परार्ध्य, अचिन्त्य, अज्ञेय उहाँ त बाफ्रे! उहाँ त दुर्ज्ञेय… हाम्री माता श्रीदुर्गाभवानीजी देवताहरूलाई पनि दुर्ज्ञेय भन्छन् हाम्रा अमृतरूप शास्त्रहरू… ओह्हो!!!

यस्ती अद्वितीय आदि पराशक्तिको दुर्गाभवानीजी अनि उहाँका विभिन्न नौ रूपमा उपासना हुने हाम्रो सबैभन्दा ठूलाे पर्व बडादसैँको महिमा ठुलो छ, अपरम्पार… विशेष दिन आदि तिथिहरू ग्रहगोचर, योग नक्षत्र आदि ईश्वर, ईश्वरका विभिन्न रूप-स्वरूप वा ईश्वरका विभिन्न आयाममा योग गराउने दुर्लभ अवसर हुन्, यी दुर्लभ समयमा भगवतोपासनाले पारमार्थिक यात्राका लागि परमात्मासँग सिधै ‘कनेक्सन’ गराउन दुर्लभ अवसर हुन्छन् भनिन्छ…

अतः सबैभन्दा सर्वोच्च चाड बडादसैँमा दुःखालयस्वरूप यस मर्त्यलोकमा घटित मानवजन्मका दुःख हरणको वन्दना गर्दै सर्वोच्च भुक्ति र मुक्तिका खातिर परम करूणामयी-परम ममतामयी सबैभन्दा सर्वोच्च तत्त्व- श्रीआदिपराशक्तिजी माता श्रीदुर्गाभवानीजीलाई प्रसन्न तुल्याउन घटस्थापनादेखि विजयादशमीसम्म हरेक दिन उहाँका नौ विभिन्न रूपस्वरूपको आउनुहोस् हामी सबैले उपासना गरौँ:

“प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी। तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम्॥३॥ पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च। सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्॥४॥ नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः। उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना॥५॥” श्रीराधे॥ —- श्रीदेव्याः कवचम्, श्रीदुर्गासप्तशतीजी॥

भगवान् श्रीब्रह्माजी श्रीमार्कण्डेय ऋषिजीलाई श्रीदुर्गाभवानीजीका नौ रूपबारे प्रकाश पार्नुहुन्छ:

“श्रीदेवीजीका नौ मूर्तिहरू हुनुहुन्छ, जुन रूपलाई ‘श्रीनवदुर्गा’ भनिन्छ। उहाँका पृथक्-पृथक् नाम बत्लाईन्छन्;

१. प्रथम श्रीनाम श्रीशैलपुत्रीजी हुनुहुन्छ (घटस्थापना पहिलो दिन: प्रतिपदा तिथि):- गिरिराज श्रीहिमालयजीकी पुत्री देवी ‘श्रीपार्वतीदेवीजी’। यद्यपि उहाँ सबकी अधीश्वरी हुनुहुन्छ, तथापि श्रीहिमालयजीका तपस्या अनि प्रार्थनाले प्रसन्न हुँदा कृपापूर्वक उहाँकी पुत्री रूपमा प्रकट भइजानुभो। यी बात पुराणहरूमा प्रसिद्ध छन्।

२. दोस्रो मूर्तिको श्रीनाम ‘श्रीब्रह्मचारिणीजी’ हुनुहुन्छ (दोस्रो दिन: द्वितीया तिथि):- ‘ब्रह्म चारयितुं शीलं यस्याः सा ब्रह्मचारिणी’-सच्चिदानन्दमय ब्रह्मस्वरूपको प्राप्ति गराउनु जसको स्वभाव हो, उहाँ ‘श्रीब्रह्मचारिणीजी’ हुनुहुन्छ।

३. तेस्रो स्वरूप ‘श्रीचन्द्रघण्टाजी’का श्रीनामले प्रसिद्ध हुनुहुन्छ (तेस्रो दिन: तृतीया तिथि):- ‘चन्द्रः घण्टायां यस्याः सा’-आह्लादकारी चन्द्रमा जसकी घण्टामा स्थित छन्, ती देवीजीका श्रीनाम ‘श्रीचन्द्रघण्टाजी’ हुन्।

४. चौथो मूर्तिलाई ‘श्रीकूष्माण्डाजी’ भनिन्छ (चौथो दिन: चतुर्थी तिथि):- ‘कुत्सितः ऊष्मा कूष्मा- त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररूपायां यस्याः सा कूष्माण्डा।’ अर्थात् त्रिविध तापयुक्त संसार जसका उदरमा स्थित छन्, ती देवी भगवती ‘श्रीकूष्माण्डाजी’ कहलिनुहुन्छ।

५. पाँचौँ दुर्गाजीको श्रीनाम ‘श्रीस्कन्दमाताजी’ हुनुहुन्छ (पाँचौँ दिन: पञ्चमी तिथि):- छान्दोग्यश्रुतिका अनुसार श्रीभगवतीजीका शक्तिबाट उत्पन्न हुनुभएका श्रीसनत्कुमारजीका नाम श्रीस्कन्दजी हो। उहाँकी माता हुनुभएकाले उहाँ ‘श्रीस्कन्दमाताजी’ कहलिनुहुन्छ।

६. श्रीदेवीजीको छैटौँ रूपलाई श्रीकात्यायनीजी भनिन्छ (छैटौँ दिन: षष्ठी तिथि):- देवताहरूका कार्य सिद्ध गर्नका लागि श्रीदेवीजी महर्षि श्रीकात्यायनजीका आश्रममा प्रकट भैजानुभो अनि श्रीमहर्षिजीले उहाँलाई आफ्नी छोरी मान्नुभो; यसैले ‘श्रीकात्यायनीजी’का श्रीनामले उहाँको प्रसिद्धि भयो।

७. सातौँ श्रीकालरात्रिजी (सातौँ दिन/फूलपाती: सप्तमी तिथि):- सबैलाई मार्नेवाला कालका पनि रात्रि (विनाशिका) हुनाले उहाँका श्रीनाम ‘श्रीकालरात्रिजी’ हुनुहुन्छ।

८. आठौँ स्वरूप ‘श्रीमहागौरीजी’का श्रीनामले प्रसिद्ध हुनुहुन्छ (आठौँ दिन/महाष्टमी: अष्टमी तिथि):- उहाँले तपस्याद्वारा महान् गौरवर्ण प्राप्त गर्नुभएको थियो, अतः उहाँ श्रीमहागौरीजी कहलाउनु भयो।

९. नवौँ श्रीदुर्गाजीको श्रीनाम ‘श्रीसिद्धिदात्रीजी’ हुनुहुन्छ (नवौँ दिन/महानवमी: नवमी तिथि):- सिद्धि अर्थात् मोक्ष दिनुहुने हुनाले उहाँका श्रीनाम ‘श्रीसिद्धिदात्रीजी’ हुनुहुन्छ।

श्रीदेवीजीका यी सब श्रीनामहरू सर्वज्ञ महात्मा श्रीवेदभगवान्जीकै द्वारा नै प्रतिपादित हुनुहुन्छ।र, दशौँ दिन दशमी तिथि, शुभ विजयादशमी: मान्यजनबाट नौ दिनसम्म श्रीमहादेवी दुर्गाभवानीजीका विभिन्न नौ रूपका पूजा-अर्चना-आराधना गरी विसर्जन गरिएपछि उहाँका चरणकमलका प्रसाद-टीका-जमरा ग्रहण गरिने… यी महानतम शुभ विजयादशमी तिथि यतिसम्मका शुभ कि जे-जस्तो राम्रो कार्यलाई सबैभन्दा शुभ दिन… ओह्हो! हे महादेवी!!!

यसरी श्रीमहादेवी दुर्गाभवानीजीको उपासना अनि उहाँका श्रीचरणका प्रसाद टीका-जमरा आदि मान्यजनबाट शुभ विजयादशमीका दिन ग्रहण हुँदा हामी सबैको परम कल्याण होओस्!!! देवीजीले हामी सबैको परम कल्याण गर्नुहोस्! हामी सबैको राम्रो होस्! सधैँ राम्रो होस्! हे राधे!!!

“नमन्त्रं नो यन्त्रं तदपि च न जानेस्तुतिमहो न चाह्वानं ध्यानं तदपि च नजाने स्तुतिकथा:। न जाने मुद्रास्ते तदपि च नजाने विलपनं परं जाने मातस्त्वदनुसरणं क्लेशहरणम्॥”

हार्दिक प्रार्थना: माता श्रीदुर्गाभवानीजीका श्रीचरण चर्चास्वरूप यस अज्ञानी पङ्क्तिकारको चिन्तन-लेखन रूप एक साह्रै फितलो प्रयासमा भुलचुक-त्रुटि हुँदा सम्पूर्ण विद्वान् परम आदरणीय पाठकजनका घटघटनिवासी आद्याशक्ति-पराभगवती दुर्गाभवानी श्रीदेवीमहारानीजीसँग क्षमाको हार्दिक-हार्दिक याचन सहित सत्यको मार्गनिर्देशका लागि नतमस्तक नमन वन्दन! श्रीराधे!!!

श्रीदेवीमहारानीजीका असीम कृपाबाट अहोभाग्यरूप उहाँका श्रीचरणमा शरणागति प्रयासरूप प्राप्त ग्रन्थजन: १. श्रीदुर्गासप्तशतीजी, गीताप्रेस, गोरखपुर २. श्रीमद्भगवद्गीता, गीताप्रेस, गोरखपुर

श्रीमहादेवी ॥ श्रीराधे ॥

[email protected]


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *