तीन महिनापछि खुल्यो खाँदबारी–किमाथाङ्का सडक, नेपाली सेनाको प्रयास सफल
सङ्खुवासभा । नेपाली सेनाको सहयोगमा ठूला चट्टानसहितको पहिरो हटाइएपछि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड पुनः सञ्चालनमा आएको छ। गत साउनदेखि अवरुद्ध रहेको नेपाल–चीन जोड्ने महत्त्वपूर्ण सडक सोमबार साँझदेखि सञ्चालनमा आएको हो।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा ठूला चट्टानसहितको पहिरो खसेपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा बन्द भएको थियो। पहिरोका कारण दैनिक आवागमन, सामान ढुवानी तथा स्थानीयको जनजीवन प्रभावित बनेको थियो।
पहिरो हटाउन उत्तर–दक्षिण (कोशी) राजमार्ग आयोजनाले नेपाली सेनालाई अनुरोध गरेको थियो। सोहीअनुसार नेपाली सेनाको नं. १ विकास निर्माण गणअन्तर्गत छुम्सुर पोस्टबाट खटिएको सैनिक टोलीले विस्फोटक पदार्थ प्रयोग गरी विशाल चट्टानलाई साना टुक्रामा विभाजन गरेको थियो। त्यसपछि आयोजनाले चट्टान हटाएर सडक सञ्चालनमा ल्याएको आयोजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिए।
उनका अनुसार भौगोलिक विकटता र ठूला चट्टानका कारण सामान्य उपकरण प्रयोग गरेर पहिरो हटाउन सम्भव थिएन। चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाको सहयोगले सडक पुनः सञ्चालन गर्न सहज भएको उनले बताए।
खाँदबारीबाट करिब १४१ किलोमिटर र किमाथाङ्काबाट करिब २१ किलोमिटर दूरीमा रहेको छुम्सुर क्षेत्रको अवरोध हटेसँगै उत्तरी सीमावर्ती क्षेत्रसम्मको यातायात सहज हुने अपेक्षा गरिएको छ। प्राकृतिक विपद् र सडक अवरोधका कारण नेपालका प्रमुख उत्तरी व्यापारिक नाकाहरूमा आवागमन तथा पारवहन प्रभावित भइरहेका बेला किमाथाङ्का सडक सञ्चालनमा आउनुलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
खाँदबारी–किमाथाङ्का सडक कोशी प्रदेशलाई चीनसँग जोड्ने रणनीतिक महत्त्वको सडक हो। वर्षायाममा पहिरो खस्ने र ठूला चट्टान झर्ने जोखिमका कारण यस सडकमा नियमित यातायात सञ्चालन चुनौतीपूर्ण हुँदै आएको छ।
कुल १६२ किलोमिटर लामो सडकखण्डमध्ये १०.८ किलोमिटर निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो। कठिन भौगोलिक अवस्था र कडा चट्टानका कारण सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माण सम्पन्न गरेको थियो। सेनाले गत वैशाखमा उक्त सडक आयोजनालाई हस्तान्तरण गरेको थियो।
किमाथाङ्का–जोगबनी सडकखण्ड सञ्चालनमा आएपछि चीन र भारतलाई जोड्ने छोटो सडकमार्गका रूपमा यसको उपयोगिता बढ्ने अपेक्षा गरिएको छ। यसबाट सङ्खुवासभासहित धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा र भोजपुरका नागरिक तथा व्यवसायी लाभान्वित हुनेछन्।
सडक आयोजनाका अनुसार अन्य खण्डमा नियमित मर्मतसम्भारमार्फत यातायात सञ्चालनलाई निरन्तरता दिइँदै आएको छ। अवरुद्ध सडक पुनः सञ्चालनमा आएसँगै दुर्गम उत्तरी क्षेत्रका नागरिकको आवागमन र दैनिक जनजीवन सहज हुने विश्वास गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment