माली समुदायको परम्परागत पेसा सङ्कटमा, संरक्षण र व्यवसायीकरणको माग

डिसी नेपाल
२ कार्तिक २०८३ ८:१२

सुनसरी । सुनसरीको सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै आएका माली समुदायको पुर्ख्यौली पेसा माला तथा झाप निर्माण सङ्कटमा पर्न थालेको छ। बजारको अभाव, उचित मूल्य नपाउनु र अन्य समुदायका व्यक्तिहरूले समेत यो पेसा अँगाल्न थालेपछि परम्परागत पेसाबाट हुने आम्दानी घट्दै गएको हो।

माली समुदायको पुर्ख्यौली पेसामा फूलखेती, फूलको व्यापार, माला निर्माण, बगैँचा संरक्षण तथा विवाह, पूजा, धार्मिक अनुष्ठान र विभिन्न चाडपर्वका लागि फूल तथा माला उपलब्ध गराउने काम पर्दछन्। यसका साथै घर, मन्दिर र सार्वजनिक स्थलका बगैँचा सजाउने तथा बिरुवाको संरक्षण गर्ने काम पनि समुदायले गर्दै आएको छ।

इनरुवा–२ का प्रकाश मालाकारका अनुसार पछिल्लो समय अन्य समुदायका व्यक्तिहरूले समेत माला तथा झाप निर्माणको काम गर्न थालेपछि परम्परागत पेसाबाट हुने आम्दानी घट्दै गएको छ। विगतमा झाप निर्माणबाट मात्रै ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेकामा अहिले त्यो अवस्था नरहेको स्थानीय शिवरतियाकुमारी मालाकारले बताइन्।

उनका अनुसार हाल झाप निर्माणबाट प्रतिसिजन २५ हजारदेखि ३० हजार रुपैयाँसम्म मात्र आम्दानी हुने गरेको छ। झाप बनाउन परिवारका सबै सदस्य संलग्न हुनुपर्ने र निकै मेहनत गर्नुपर्ने भए पनि श्रमअनुसारको मूल्य पाउन नसकिएको उनको गुनासो छ।

दशैँ तथा छठ पर्वका बेला विशेष माग हुने झाप कागज तथा विभिन्न वनस्पतिबाट तयार गरिन्छ। मधेस क्षेत्रका स्थानीयको पूजाकोठामा यसको विशेष महत्त्व रहेकाले धार्मिक तथा सांस्कृतिक परम्परासँग पनि यो पेसा जोडिएको छ।

प्रकाश मालाकारका अनुसार एउटा झाप तयार गर्न करिब तीन घण्टा लाग्छ। विशेषगरी कोठला झाप बनाउन एकदेखि दुई महिनाअघि नै अर्डर आउने भएकाले समयमै काम सुरु गर्नुपर्ने हुन्छ। दशैँ तथा छठका बेला झाप बिक्रीबाट २५ हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरे पनि कच्चा पदार्थ र अन्य खर्च कटाउँदा वार्षिक रूपमा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म मात्र बचत हुने गरेको उनले बताए।

झाप निर्माणका लागि आवश्यक कच्चा पदार्थ भारतलगायत बाहिरी स्थानबाट ल्याउनुपर्ने भएकाले लागतसमेत बढ्ने गरेको छ। सीप, समय र मेहनत खर्चिएर बनाइएका सामग्रीको उचित मूल्य नपाउँदा पेसालाई निरन्तरता दिन कठिन हुँदै गएको माली समुदायको भनाइ छ।

बजार र संरक्षणको अभावमा पुर्ख्यौली पेसाबाट हुने आम्दानीले सामान्य घरखर्चसमेत धान्न मुस्किल हुने गरेको प्रकाशले बताए। परिवारको अन्य आवश्यकता पूरा गर्न वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

परम्परागत सीप र सांस्कृतिक पहिचानसँग जोडिएको माली समुदायको पेसा संरक्षण गर्न स्थानीय तह तथा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने माग समुदायले गरेको छ। उनीहरूले बजार व्यवस्थापन, उचित मूल्य निर्धारण र पेसाको व्यवस्थित प्रवर्द्धन गर्न सके पुर्ख्यौली सीपको संरक्षणसँगै स्थानीयस्तरमै रोजगारी र आम्दानीको अवसर सिर्जना हुने अपेक्षा गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *