ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा, बाढी प्रभावितलाई आवतजावतमा सहज

डिसी नेपाल
२ कार्तिक २०८३ ८:४३

नुवाकोट । भोटेकोशी बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध बनेको आवतजावत झोलुङ्गे पुल निर्माणसँगै सहज भएको छ। ढुङ्गे र त्रिशूली बजारलाई जोड्ने गरी निर्माण गरिएको पुल पूर्ण रूपमा सम्पन्न नहुँदै स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै सञ्चालनमा ल्याइएको हो।

गत भदौ १० गते आएको बाढीले पक्की पुल बगाएपछि स्थानीयवासी नदी वारपार गर्न तुइन र जिपलाइनको सहारा लिन बाध्य थिए। विशेषगरी बाढीबाट प्रत्यक्ष प्रभावित त्रिशूली बजार तथा नदीपारिका बस्तीमा आवतजावत गर्न निकै कठिनाइ हुँदै आएको थियो। झोलुङ्गे पुल सञ्चालनमा आएसँगै स्थानीयवासीलाई आवतजावत गर्न, राहत सामग्री ओसारपसार गर्न तथा पुनःस्थापनाका काम अघि बढाउन सहज भएको छ।

नुवाकोट निर्माण व्यवसायी सङ्घका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलका अनुसार पुलको मुख्य संरचना र लट्ठा जडानको काम सम्पन्न भएपछि स्थानीयवासीको आवश्यकतालाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको हो। पुलका दुवैतर्फ चार स्थानमा सहायक लट्ठा बाँध्नेलगायत केही काम भने अझै बाँकी छन्।

प्याकुरेलले बाढीबाट क्षतिग्रस्त नदी तथा खोलामाथिका संरचनापछि वारपारका लागि निर्माण गरिएको यो पहिलो पुल भएको बताए। चाडपर्वको समयमा स्थानीयवासीले तुइनबाट यात्रा गर्दा भोग्नुपरेको कठिनाइ कम गर्न पुल पूर्ण रूपमा निर्माण सम्पन्न नहुँदै सञ्चालनमा ल्याइएको उनको भनाइ छ। बाँकी निर्माण कार्य पनि क्रमशः पूरा गरिने उनले बताए।

पुलका केही संरचना निर्माण गर्न बाँकी रहेकाले वारपार गर्दा पुल हल्लिने समस्या देखिएको छ। यद्यपि, प्राविधिकको भनाइ उद्धृत गर्दै निर्माण पक्षले पुलबाट एकैपटक ठूलो सङ्ख्यामा यात्रु आवतजावत गर्न सक्ने जनाएको छ।

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बाढीपछि त्रिशूली नदी वारपार गर्न प्रयोग गरिने पक्की संरचना क्षतिग्रस्त हुँदा स्थानीयवासी जोखिमपूर्ण माध्यमबाट यात्रा गर्न बाध्य भएको बताए। तुइन र जिपलाइनबाट सीमित सङ्ख्यामा मात्रै यात्रु वारपार गर्न सकिने अवस्थामा झोलुङ्गे पुल सञ्चालनमा आएपछि आवतजावत सहज भएको उनले उल्लेख गरे।

पुल निर्माणका लागि तीन करोड १८ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। निर्माण पक्षका अनुसार हालसम्म एक करोड ६८ लाख रुपैयाँ खर्च भइसकेको छ भने थप १० लाख रुपैयाँ बराबरको काम गर्न बाँकी छ। नेपाल निर्माण व्यवसायी महासङ्घले पुल निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको महासङ्घका अध्यक्ष निकोलस पाण्डेले जानकारी दिए। उक्त रकम निर्माण व्यवसायी कोषमार्फत सुनिश्चित गरिएको र अपुग रकम नुवाकोट निर्माण व्यवसायी सङ्घले व्यहोर्ने जनाइएको छ।

पुल सञ्चालनमा आएपछि विदुर नगरपालिका–१ को ढुङ्गेबाट बाढीले प्रत्यक्ष प्रभावित बनाएको त्रिशूली बजार हुँदै विदुर नगरपालिका–७, ८, ९ र १२ का बस्तीमा पुग्न सहज भएको छ। यसबाट विदुर नगरपालिकाका अन्य बस्तीका साथै किस्पाङ र म्यागङ गाउँपालिका, रसुवाका वडा नं १, २ र ३ तथा धादिङतर्फ आवतजावत गर्ने यात्रु पनि लाभान्वित भएका छन्।

त्रिशूली नदीपारि रहेको त्रिशूली अस्पताल, नेपाल विद्युत् प्राधिकरणको नुवाकोट वितरण केन्द्र तथा विभिन्न विद्यालयमा आवतजावत गर्न पनि पुलले सहजता थपेको छ। पुलको दुवैतर्फ सडक सञ्जाल जोडिएकाले नदी पार गरेपछि यात्रुले सवारीसाधनमार्फत आफ्नो गन्तव्यसम्म पुग्न सक्ने भएका छन्।

पुल नहुँदा त्रिशूली बजार क्षेत्रमा बाढीले थुपारेको भग्नावशेष हटाउन, पुरिएका संरचनाको खोजतलास गर्न तथा नदीपारिका बस्तीमा खाद्यान्नलगायत अत्यावश्यक सामग्री पुर्‍याउन कठिनाइ हुँदै आएको थियो। झोलुङ्गे पुल सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका गतिविधि थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *