झापाको बिर्तामोडमा नेपाली कपडा ब्राण्ड ‘चिनो’को चारदिने वेयरहाउस सेल सुरु

डिसी नेपाल
१७ असोज २०८३ ७:०१

बिर्तामोड। नेपाली कपडा ब्राण्ड ‘चिनो’ले आसन्न दशैँलाई लक्षित गर्दै झापाको बिर्तामोडमा चारदिने ‘वेयरहाउस सेल’ आयोजना गर्ने भएको छ। बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा असोज १७ देखि २० गतेसम्म सञ्चालन हुने उक्त सेलको सम्पूर्ण तयारी पूरा भएको कम्पनीले जानकारी दिएको छ।

सेलमा क्याजुअल वेयर, स्ट्रिटवेयर, टिसर्ट, सर्ट, पाइन्ट र ज्याकेटलगायतका विभिन्न पहिरनहरू विशेष छुट मूल्यमा बिक्री गरिनेछ। आफ्नै कारखानामा उत्पादित कपडा बिचौलियाबिना सिधै ग्राहकसम्म पुर्‍याइने भएकाले तुलनात्मक रूपमा निकै सुलभ मूल्यमा उपलब्ध गराइने कम्पनीको भनाइ छ। थोक तथा खुद्रा दुवै माध्यमबाट बिक्री गरिने यस सेलमा न्यूनतम २९९ रुपैयाँदेखि अधिकतम १ हजार ४९९ रुपैयाँसम्मका पहिरनहरू खरिद गर्न सकिनेछ।

कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा विभिन्न मोडलहरूले ‘चिनो’ ब्राण्डका आकर्षक पहिरन प्रदर्शन गर्दै र्‍याम्प वाकसमेत गरेका थिए।

दशैँको मुखैमा आयोजना गरिएकाले इटहरीको तुलनामा बिर्तामोडमा अझ बढी ग्राहकको उपस्थिति रहने अपेक्षा गरिएको कम्पनीका निर्देशक राजेन्द्र डुम्रेले बताए। ‘नेपालीका लागि नेपाली ब्राण्ड’ भन्ने मूलमन्त्रका साथ अघि बढेको र युवा पुस्तामाझ लोकप्रिय रहेकाले बिर्तामोडको सेल भव्य रूपमा सफल हुनेमा आफूहरू विश्वस्त रहेको उनले उल्लेख गरे।

यस्तै, चिनोका संस्थापक नवराज बजगाईंले नेपाली उत्पादनलाई विश्वस्तरीय बनाउन निरन्तर काम भइरहेको जानकारी दिए। विगतमा गार्मेन्ट उद्योगका क्षेत्रमा नेपाली समुदायले बनाएको पहिचानलाई ‘चिनो’मार्फत पुनः स्थापित गर्ने अभियानमा आफूहरू लागिपरेको उनको भनाइ छ। हाल मुख्यतया महिलाका पहिरनमा केन्द्रित रहेको चिनोले छिट्टै पुरुषका कपडाहरू पनि बजारमा ल्याउने योजना बनाएको उनले बताए।

कम्पनीका अनुसार चिनो गार्मेन्टमा हाल करिब ७ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन्, जसमध्ये ८० प्रतिशतभन्दा बढी महिला कामदार रहेका छन्। गुणस्तर र अत्याधुनिक डिजाइनलाई प्राथमिकता दिँदै आएको यस ब्राण्डले यसअघि सुनसरीको इटहरीमा आयोजना गरेको वेयरहाउस सेलमा ४० हजारभन्दा बढी ग्राहक सहभागी भएको दाबी गरेको छ।

इटहरीको भव्य सफलता र ग्राहकको मागलाई सम्बोधन गर्दै बिर्तामोडमा सेल आयोजना गरिएको भन्दै कम्पनीले दशैँको किनमेल गर्ने सम्पूर्ण उपभोक्तालाई सहभागी हुन आह्वान गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *