कोशीमा पानीको बहाव १ लाख ९० हजार क्युसेक पुग्यो: २४ ढोका खोलिए

डिसी नेपाल
९ असोज २०८३ १०:०९

इनरुवा। पूर्वी पहाडी तथा तराईका क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण कोशी नदीमा पानीको सतह उल्लेख्य रूपमा बढेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी होम ओलीका अनुसार शुक्रबार बिहान ९:१५ बजेको मापन अनुसार कोसी ब्यारेज भएर बग्ने पानीको बहाव १ लाख ९० हजार ६८० क्युसेक प्रतिसेकेन्ड पुगेको छ।

पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै ब्यारेजका कुल ५६ वटा ढोकामध्ये २४ वटा ढोका खुला गरिएको छ। जलस्तर निरन्तर बढेपछि कोसी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ भने रातो झण्डा पनि फहराइएको कन्ट्रोल रुमले जनाएको छ।

नदीमा पानीको सतह अझै बढ्न सक्ने अनुमानका साथ प्राविधिकहरूले बहावको निरन्तर अनुगमन गरिरहेका छन्। जलस्तर बढेसँगै तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले आग्रह गर्नुभएको छ।

मौसम विज्ञान विभागको विशेष बुलेटिन अनुसार आगामी असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकलाई विशेष सजग रहन अपिल गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *