काठमाडौं जोड्ने प्रमुख राजमार्गहरू अवरुद्ध: सार्वजनिक बसहरू उपत्यकामै रोकिए
काठमाडौं। बिहीबारदेखि देशका विभिन्न स्थानमा निरन्तर भइरहेको अविरल वर्षाका कारण विभिन्न राजमार्गहरू बन्द भएपछि सार्वजनिक सवारीसाधनहरू काठमाडौँमै रोकिएका छन्।
देशका विभिन्न भागलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख राजमार्गहरू बन्द भएपछि सर्वसाधारणको जनजीवन थप कष्टकर बन्दै गएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौँ जोड्ने मुख्य सडकखण्डहरू बन्द भएकाले लामो दूरीका सार्वजनिक बसहरू उपत्यकाभित्रै रोकिएका हुन्।
उहाँले दिएको जानकारी अनुसार हाल पृथ्वी राजमार्ग र बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, काठमाडौँबाट हेटौंडा जोड्ने फर्पिङको सडकखण्ड भने सञ्चालनमा रहेकाले सो मार्ग हुँदै साना सवारीसाधनहरू आवतजावत गरिरहेका छन्।
नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लले बिहीबार साँझदेखि नै गोंगबुस्थित नयाँबसपार्कमा सार्वजनिक यातायातका साधनहरू रोकिएको जानकारी दिए।
देशका विभिन्न भूभागबाट काठमाडौं जोड्ने राजमार्गहरू बाढी र पहिरोका कारण ठाउँ-ठाउँमा अवरुद्ध भएपछि अधिकांश सवारीसाधनहरू नयाँबसपार्क परिसरमै रोकेर राखिएका छन्।
यसैबीच, बिहीबार बिहानैदेखि सङ्घीय राजधानी काठमाडौं उपत्यकामा निरन्तर भारी वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण काठमाडौँ उपत्यका भित्रका नदी तथा खोलाहरूमा पानीको बहाव क्रमशः बढ्न थालेको छ।
नदीमा जलसतह बढेसँगै सम्भावित जोखिमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नदी किनारका करिडोर सडकहरूमा सवारीसाधन नरोक्न र पार्किङ नगर्न अनुरोध गर्दै माइकिङ सुरु गरेको छ।
अर्कोतर्फ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पनि देशभर भारी वर्षा भइरहेकाले राजमार्गहरूमा पहिरो जानसक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै विशेष सजगता अपनाउन सवारी चालकहरूलाई आग्रह गरेको छ।
महासंघका महासचिव डेकनाथ गौतमले वर्षाका कारण राजमार्गहरू जुनसुकै बेला अवरुद्ध हुनसक्ने भएकाले सुरक्षा निकायहरूसँग निरन्तर समन्वय गरेर मात्र सवारीसाधन सञ्चालन गर्न सम्पूर्ण व्यवसायी तथा चालकहरूलाई अपिल गरेका छन्।
मौसम विज्ञान विभाग र सम्बन्धित निकायहरूले असोज ८ देखि १२ गतेसम्म देशका धेरैजसो भागमा भारी वर्षा हुने र बाढी-पहिरोको जोखिम रहने पूर्वानुमान गर्दै आम नागरिकलाई उच्च सतर्कता र सचेतता अपनाउन अपिल गरिरहेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment