भारी वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह
काठमाडौं। आज शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भूभागमा अत्यधिक वर्षा हुने पूर्वानुमान गरिएकाले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वसूचनाका आधारमा मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन तथा सामाजिक समावेशीकरण शाखाले सम्पूर्ण स्थानीय तहलाई पत्राचार गर्दै सम्भावित विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीमा जुट्न निर्देशन दिएको हो।
मन्त्रालयले पठाएको पत्रमा वर्षाको जोखिम रहने अवधिभर स्थानीय तहका कुनै पनि कर्मचारीलाई बिदामा नबस्न र प्रमुख प्रशासकीय अधिकृतहरूलाई मन्त्रालयको निरन्तर सम्पर्कमा रहन आग्रह गरिएको छ। साथै तत्कालै स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसेर आवश्यक पूर्वतयारी गर्न र सोको विवरण मन्त्रालयमा पठाउन भनिएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै जोखिमयुक्त बस्ती तथा स्थानमा रहेका नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन मन्त्रालयले विशेष जोड दिएको छ।
आपत्कालीन अवस्था आएमा सामुदायिक भवन र विद्यालयहरूलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ।
यसका साथै विपद्को जोखिमबारे नागरिकलाई समयमै सतर्क गराउन वडा कार्यालय, माइकिङ, स्थानीय एफएम रेडियो र सामाजिक सञ्जालमार्फत सचेतनामूलक सूचनाहरू निरन्तर प्रवाह गर्न सबै स्थानीय तहलाई ताकेता गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment