अविरल वर्षाले पृथ्वी राजमार्गका सात स्थानमा पहिरो, दुई ठाउँमा सडक पूर्ण अवरुद्ध
धादिङ । अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खसेको छ। पहिरोका कारण राजमार्गको यातायात सेवा प्रभावित भएको छ भने दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं डीएसपी प्रकाश दाहालका अनुसार कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको हो। तीमध्ये कृष्णभिर र तिगराङ खोलामा सडक दुवैतर्फबाट पूर्ण रूपमा अवरुद्ध भएको उनले बताए।
अन्य स्थानमा भने पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएकाले राजमार्ग खुलाउन समस्या भइरहेको डीएसपी दाहालले बताए।
उनका अनुसार कृष्णभिरमा दुई वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ। तर अन्य स्थानमा निरन्तर वर्षा भइरहनुका साथै पहिरो खस्ने क्रम जारी रहेकाले सडक तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको छ।
पहिरोका कारण पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्। प्रहरीले राजमार्गको अवस्था हेरेर मात्रै यात्रा गर्न तथा जोखिमयुक्त स्थानमा सावधानी अपनाउन आग्रह गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment