पाथीभरामा भदौमै उठ्यो साढे १३ लाख भेटी, गत वर्ष आएका थिए २ लाख ५२ हजार भक्तजन
ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा भदौ महिनामा मात्रै साढे १३ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ। भक्तजनहरूले मन्दिरमा चढाएको नगदबाट उक्त रकम संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
समितिले सार्वजनिक गरेको विवरणअनुसार भदौ महिनामा कुल १३ लाख ६७ हजार रुपैयाँ भेटी संकलन भएको छ। समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार सो महिनामा ६ हजार १२३ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका थिए।
यसअघि चालु आर्थिक वर्षको साउन महिनामा भने ३ लाख १८ हजार ५०० रुपैयाँ मात्र भेटी उठेको थियो, जबकि गत आर्थिक वर्षको साउनमा १० लाख ३९ हजार रुपैयाँ संकलन भएको थियो।
पाथीभरामा नगद भेटीका अतिरिक्त दर्शनार्थीहरूले सुनचाँदी, त्रिशूल, घण्टी, सिक्का, माना–पाथी तथा शैक्षिक सामग्रीसमेत चढाउने गर्छन्। यसरी चढाइएका सामग्रीहरू नेपाल प्रहरीको रोहबरमा संकलन गरी सुरक्षित रूपमा भण्डारण गर्ने गरिएको छ।
समितिको तथ्यांकअनुसार गत आर्थिक वर्षभरि कुल २ लाख ५२ हजार ७८ जना दर्शनार्थी पाथीभरा पुगेका थिए, जसबाट कुल ४ करोड ८२ लाख ३ हजार ८५५ रुपैयाँ भेटी संकलन भएको थियो।
समुद्र सतहदेखि ३,७९४ मिटरको उचाइमा रहेको पाथीभरा पुग्न काफ्लेपाटीसम्म सवारीसाधन प्रयोग गर्न सकिन्छ भने त्यहाँबाट करिब ५ किलोमिटरको पैदल यात्रा तय गरी मुख्य पूजाधाम पुग्न सकिन्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment