तिहार लक्षित फूल-माला बिक्रीका लागि काठमाडौंमा ३३ स्थान तोकियो, प्लास्टिकजन्य सामग्री बिक्रीमा रोक

डिसी नेपाल
१७ कार्तिक २०८३ १०:४१

काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी तिहार पर्वलाई लक्षित गर्दै प्राकृतिक फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणका लागि नगरभित्रका विभिन्न ३३ वटा स्थान निर्धारण गरेको छ।

महानगरपालिकाले प्लास्टिकका फूल तथा माला बिक्रीमा पूर्ण रोक लगाउँदै स्वदेशी एवम् स्थानीय उत्पादनलाई प्राथमिकता दिन व्यवसायी तथा सर्वसाधारणसँग आग्रह गरेको छ।

महानगर प्रहरी बलले सार्वजनिक सूचना जारी गर्दै नेपाली किसानले उत्पादन गरेका प्राकृतिक फूल तथा मालाको बिक्रीलाई सहज र व्यवस्थित बनाउन निश्चित स्थानहरू तोकेको जानकारी दिएको छ।

सूचनामा प्लास्टिकका फूल, गुच्छा तथा सजावटका अनधिकृत सामग्री बिक्री वितरण नगर्न कडा चेतावनी दिइएको छ। महानगरका अनुसार बजार अनुगमनका क्रममा प्लास्टिकजन्य वा तोकिएको गुणस्तर कायम नभएका सामग्री बिक्री गरेको पाइएमा तिनलाई तत्काल जफत गरिनेछ।

महानगरपालिकाले नयाँ बानेश्वर, शङ्खमूल, चाबहिल, बत्तीसपुतली, तीनकुने, सिफल, स्वयम्भू, कालीमाटी, कलङ्की, माछापोखरी, महाराजगञ्ज, गोङ्गबु, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा र न्यु रोड जस्ता प्रमुख व्यापारिक क्षेत्रहरूमा बिक्री स्थल तय गरेको छ।

यसै गरी हाँडीगाउँ, सामाखुसी, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल तथा भृकुटीमण्डपलगायतका स्थानमा पनि व्यवसायीहरूले फूल तथा माला बिक्री गर्न सक्ने व्यवस्था मिलाइएको छ।

स्वदेशी फूलको बजार प्रवर्धन र बिक्री वितरणलाई थप व्यवस्थित बनाउन सम्बन्धित व्यापारी, व्यवसायी र सर्वसाधारण उपभोक्ताहरूलाई महानगरले तोकेका स्थानहरूको मात्र प्रयोग गर्न अपिल गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *