बुढानीलकण्ठ मन्दिर आसपासका संरचना हटाउन अल्टिमेटम, कात्तिक १८ बाट अतिक्रमणमुक्त बनाइने
काठमाडौं। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको प्रसिद्ध बुढानीलकण्ठ मन्दिर क्षेत्र आसपास अतिक्रमण गरी बनाइएका अवैध संरचनाहरू हटाउन सम्बन्धित निकायले निर्देशन दिएको छ।
सार्वजनिक जग्गाको संरक्षण गर्ने, धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यवस्थित व्यवस्थापन गर्ने र मन्दिर क्षेत्रको सौन्दर्यकरणलाई अभिवृद्धि गर्ने मुख्य उद्देश्यसहित यो प्रक्रिया अघि बढाइएको हो।
मन्दिर क्षेत्र वरिपरि रहेका सार्वजनिक जग्गा तथा ओगटेर बनाइएका घरटहरा, स्थायी तथा अस्थायी पसलहरू र अन्य अवैध संरचनाहरू आफैं हटाउन सम्बन्धित व्यक्ति, अतिक्रमणकारी तथा व्यवसायीहरूलाई स्पष्ट निर्देशन जारी गरिएको छ।
यदि तोकिएको समयसीमाभित्र अटेरी गरी आफ्ना संरचनाहरू आफैँ नहटाएमा आगामी कात्तिक १८ गतेदेखि डोजर प्रयोग गरी ती सम्पूर्ण संरचनाहरू जबरजस्ती हटाउने कडा तयारी गरिएको छ।
सार्वजनिक र गुठीका जग्गाहरू व्यक्तिगत प्रयोजनमा प्रयोग हुँदा मन्दिर क्षेत्रको व्यवस्थापन, आवतजावत र सौन्दर्यमा गम्भीर असर परेको छ। जग्गा अतिक्रमणका कारण मन्दिर परिसरमा दर्शनार्थीहरूको सहज आवागमनमा अवरोध पुगिरहेको र अस्तव्यस्तता बढेकाले यसलाई हटाउनुपर्ने आवश्यकता देखिएको हो। मन्दिरको पवित्रता, ऐतिहासिक गरिमा र सांस्कृतिक सौन्दर्यलाई जोगाइराख्न यो कदम चालिएको सम्बन्धित पक्षले जनाएको छ।
डोजर सञ्चालनका क्रममा हुन सक्ने सम्भावित विवाद, विरोध तथा अवरोधलाई मध्यनजर गर्दै सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग कूटनीतिक र व्यावहारिक समन्वय गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ।
सार्वजनिक जग्गाको रक्षा गर्नु राज्यका साथै स्थानीय समुदायको पनि साझा दायित्व भएकाले सम्बन्धित सबैलाई निर्धारित समयसीमाभित्र आफ्ना अतिक्रमित संरचना स्वेच्छाले हटाएर यस पवित्र सम्पदा संरक्षण अभियानमा पूर्ण सहयोग पुर्याउन आग्रह गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment