मौसम प्रतिकूल बनेपछि इलामका सडकमा रातिको समयमा सवारी आवागमन बन्द
इलाम। जल तथा मौसम विज्ञान विभागले भारी तथा अति भारी वर्षाको सम्भावना औँल्याएसँगै जिल्ला प्रशासन कार्यालय इलामले जिल्लाका प्रमुख सडकहरूमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी सूचनाअनुसार २०८३ असोज ८ गते बेलुकादेखि असोज ११ गते बिहानसम्म प्रत्येक दिन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाका सडकहरूमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ।
गत वर्षको अविरल वर्षाका कारण मेची राजमार्गलगायत जिल्लाका अन्य भित्री सडक तथा बाटाघाटाहरू अझै पूर्ण रूपमा सुरक्षित नभई जोखिमपूर्ण र जीर्ण अवस्थामै रहेका छन्। हाल पुनः भारी वर्षाको उच्च सम्भावना रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको प्रशासनले जनाएको छ।
निर्णयअनुसार मेची राजमार्ग, मेची करिडोरका साथै जिल्लाका सबै सडकहरूमा तोकिएको समयमा सवारी साधन सञ्चालन गर्न पाइने छैन।
प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी रातको समयमा यात्रा नगर्न विशेष आग्रह गरेको छ। अति आवश्यक परेको खण्डमा नजिकको प्रहरी प्रशासनसँग समन्वय गरेर मात्र यात्रा गर्न तथा अत्यावश्यक सेवाका सवारी साधनले पनि सुरक्षा निकायसँग समन्वय गरेर मात्र सञ्चालन गर्न अनुरोध गरिएको छ।
मौसम प्रतिकूल रहेको अवस्थामा सडक तथा पुलको अवस्था थप जोखिमपूर्ण हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय इलामले आग्रह गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment