बसाइँसराइ गरेर आउने परिवारलाई अब गाई होइन, घर दिँदै छथर जोरपाटी

डिसी नेपाल
१ असोज २०८३ ९:२८

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले बसाइँसराइ गरेर गाउँमा आउने परिवारलाई टिकाइराख्न सञ्चालन गर्दै आएको ‘दुहुना गाई’ कार्यक्रम परिवर्तन गर्ने भएको छ। नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोड्दै पशुपालनमार्फत आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले पाँच वर्षदेखि सञ्चालन गरिएको कार्यक्रमको प्रभाव अपेक्षाअनुसार नदेखिएपछि गाउँपालिकाले अब ‘सुरक्षित आवास’ कार्यक्रम अघि सार्ने तयारी गरेको हो।

गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि बसाइँसराइ गरेर आउने परिवारलाई दुहुना गाई वितरण गर्दै आएको थियो। पाँच वर्षको अवधिमा ५० परिवारले लैनो गाई प्राप्त गरेका छन्। पहिलो वर्ष नौ परिवारलाई गाई वितरण गरिएको थियो। त्यसपछि आव २०७८/७९ मा १०, २०७९/८० मा १८, २०८०/८१ मा चार र २०८१/८२ मा तीन परिवारलाई गाई वितरण गरिएको पशुपन्छी विकास शाखाका प्रमुख राजकुमार राईले बताए।

गाउँपालिकाका अनुसार अन्य स्थानीय तह वा जिल्लाबाट बसाइँसराइ गरेर छथर जोरपाटीमा आउने परिवारलाई गाईमार्फत स्थानीय अर्थतन्त्रसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो। गाईपालनबाट दूध उत्पादन गरी आम्दानी गर्न सकिने भएकाले नयाँ ठाउँमा बसोबास गर्ने परिवारलाई आर्थिक रुपमा सहज हुने अपेक्षा गाउँपालिकाको थियो।

तर, गाई वितरण गर्दैमा बसाइँसराइ गरेर आउने परिवारलाई गाउँमा स्थायी रुपमा टिकाउन नसकिने निष्कर्षमा गाउँपालिका पुगेको छ। त्यसैले अब आयआर्जनको अवसरसँगै स्थायी र सुरक्षित बसोबासको आधार तयार गर्नुपर्ने आवश्यकता देखिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाका अनुसार ‘दुहुना गाई’ कार्यक्रमको विकल्पमा अब ‘सुरक्षित आवास’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ। बसाइँसराइ गरेर आउने परिवारलाई घर निर्माणमा सहयोग गर्ने गरी कार्यक्रम अघि बढाउन लागिएको उनले बताए।

उनका अनुसार दीर्घकालीन रुपमा नयाँ परिवारलाई गाउँमा टिकाउन आयआर्जनका कार्यक्रम मात्र पर्याप्त नहुने देखिएको छ। परिवारका लागि सुरक्षित र स्थायी आवासको व्यवस्था पनि उत्तिकै आवश्यक भएकाले आगामी दिनमा घर निर्माणमा सहयोग गर्ने कार्यक्रमलाई प्राथमिकता दिइनेछ।

छथर जोरपाटी गाउँपालिकाले बसाइँसराइ गरेर आउनेबित्तिकै गाई वितरण गर्ने गरेको थिएन। बसाइँसराइ गरेको तीन महिना पूरा भएपछि मात्रै गाई प्राप्त गर्ने प्रक्रिया अघि बढाइन्थ्यो। गाई लिन इच्छुक परिवारले गाउँपालिकामा निवेदनसँगै बसाइँसराइ दर्ता प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जा, नागरिकताको प्रमाणित प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस बुझाउनुपर्ने व्यवस्था थियो।

कागजात प्राप्त भएपछि गाउँपालिकाले स्थलगत अनुगमन गरी परिवारको वास्तविक अवस्था, बसोबासको स्थिति तथा अन्य आवश्यक पक्षको अध्ययन गर्ने गरेको थियो। अनुगमनबाट योग्य ठहरिएका परिवारलाई मात्रै दुहुना गाई उपलब्ध गराइन्थ्यो। आवश्यक कागजात र प्रक्रिया पूरा गर्न नसक्दा केही इच्छुक परिवार भने कार्यक्रममा सहभागी हुन नसकेको पशुपन्छी विकास शाखाका प्रमुख राईले बताए।

गाउँपालिकाको तथ्याङ्कअनुसार छथर जोरपाटीमा बसाइँसराइ गरेर आउने परिवारमध्ये सबैभन्दा धेरै तेह्रथुमका छन्। छथर क्षेत्रसँग तेह्रथुमको भौगोलिक तथा सामाजिक सम्बन्ध नजिक रहेकाले त्यहाँबाट आउने परिवारको सङ्ख्या बढी रहेको गाउँपालिकाले जनाएको छ।

तेह्रथुमबाहेक धनकुटाकै अन्य स्थानीय तह, भोजपुर, सङ्खुवासभा र झापाबाट समेत परिवारहरू छथर जोरपाटीमा बसाइँसराइ गरेर आएका छन्। गाउँमा नयाँ परिवार भित्र्याउने र उनीहरूलाई स्थानीय तहका सेवासुविधासँग जोड्ने उद्देश्यले ‘दुहुना गाई’ कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष सुब्बाले बताए।

पाँच वर्षको अनुभवबाट गाउँपालिकाले अब बसाइँसराइ व्यवस्थापनको प्राथमिकता परिवर्तन गर्न लागेको हो। यसअघि गाउँमा आउने परिवारलाई उत्पादनसँग जोड्ने नीति लिइएको थियो। त्यसअनुसार दुहुना गाई वितरण गरिएको थियो। अब भने सुरक्षित बसोबासको आधार तयार गर्ने नीतिलाई प्राथमिकता दिइने भएको छ।

गाउँपालिकाका अनुसार नयाँ परिवारलाई गाउँमा स्थायी रुपमा टिकाउन आयआर्जन र सुरक्षित आवासलाई सँगसँगै अघि बढाउने आवश्यकता देखिएको छ। त्यसैले दुहुना गाई वितरणबाट सुरु भएको बसाइँसराइ व्यवस्थापनको कार्यक्रम अब घर निर्माणमा सहयोग गर्ने ‘सुरक्षित आवास’तर्फ मोडिन लागेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *