बार्दलीबाट गुट्खा थुक्दा करेन्ट लागेर ६५ वर्षीय वृद्धको ज्यान गयो

डिसी नेपाल
८ कार्तिक २०८३ २०:१९

मध्य प्रदेश (भारत)। भारतको मध्य प्रदेशस्थित विदिशा जिल्लामा ११ हजार भोल्ट (११ केभी) को उच्च क्षमताको विद्युतीय प्रसारण लाइनको करेन्ट लागेर एक ६५ वर्षीय वृद्धको ज्यान गएको छ।

विदिशाको गञ्ज बासोदास्थित गायत्री नगरमा शुक्रबार भाडाको घरको तेस्रो तलाको बार्दलीबाट गुट्खा थुक्ने क्रममा स्थानीय ६५ वर्षीय प्रभुलाल गुप्ता अचानक हाइटेन्सन तारको सम्पर्कमा पुगेका थिए। भारतीय अखबार ‘दैनिक जागरण’का अनुसार करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। मूल घर छतरपुर भएका गुप्ता विगत १० वर्षदेखि गञ्ज बासोदामा भाडामा बस्दै आएका थिए र उनी पेसाले मेकानिक थिए।

विद्युत् प्राधिकरणप्रति स्थानीयको आक्रोश

यस दुर्घटनापछि स्थानीय बासिन्दाहरू विद्युत् विभागको लापरबाहीप्रति अत्यधिक आक्रोशित बनेका छन्। आवासीय घरहरूसँगै टाँसिएर गएको उच्च क्षमताको प्रसारण लाइन हटाउन पटक–पटक आग्रह गर्दा पनि सम्बन्धित निकायले बेवास्ता गरेको उनीहरूको आरोप छ।

घटना भएको घरकी मालिक पद्मा चिधरले घर नजिकैबाट गएको हाइटेन्सन लाइन हटाउन विद्युत् कम्पनीका अधिकारीहरूसँग धेरै पटक निवेदन दिएको बताएकी छिन्। अधिकारीहरूले तार चाँडै हटाउने आश्वासन दिए पनि लामो समयसम्म कुनै सुनुवाइ नगर्दा यो ठूलो दुर्घटना हुन पुगेको उनको भनाइ छ।

धेरै आवासीय क्षेत्रहरूमा ११ केभीका लाइनहरू घरहरूसँगै पास भए पनि नियमित मर्मतसम्भार र सुरक्षाका न्यूनतम मापदण्डसमेत नअपनाइएको स्थानीयको गुनासो छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *