९ महिनाको प्रयासपछि पाएको जागिरबाट पहिलो दिनमै अढाइ घण्टामा बर्खास्त
काठमाडौं । करिब ९ महिनाको खोजीपछि जब अन्ततः एक अमेरिकी व्यक्तिले नयाँ काम पाए, तब उनलाई लाग्यो कि गाह्रो समय सकियो। नयाँ जागिरको पहिलो दिन उनका लागि खास थियो। उनले राति नुहाएर नयाँ लुगा तयार पारे र बिहान पूर्ण रूपमा तयार भएर कार्यालय पुगे। तर केही घण्टामै त्यो जागिर हातबाट फुत्किनेछ भन्ने उनलाई के थाहा!
ती व्यक्तिले सामाजिक सञ्जाल रेडिटमा आफ्नो पीडादायी अनुभव सेयर गरेका छन्। उनका अनुसार, काम सुरु गरेको करिब साढे दुई घण्टामै उनलाई कार्यालय छोड्न भनियो। टेम्प एजेन्सीले यसको कारण ‘हाइजिन इस्यु’ अर्थात् सरसफाइसँग सम्बन्धित समस्या भएको बताएको छ।
ती व्यक्तिले आफू करिब साढे नौ महिनादेखि बेरोजगार रहेको बताएका छन्। यस अवधिमा उनको बेरोजगारी भत्ता बापतको आर्थिक सहायता पनि सकिइसकेको थियो। यस्तो अवस्थामा नयाँ जागिर पाउँदा उनी निकै खुसी थिए। खास कुरा त के थियो भने, यस जागिरमा उनले अघिल्लो काममा भन्दा धेरै तलब पाउनेवाला थिए।
पहिलो दिनलाई लिएर उनले विशेष तयारी गरेका थिए। राति नुहाए र नयाँ पोलो सर्ट निकालेर राखे। अर्को बिहान कार्यालय पुग्दा सुपरभाइजरले उनलाई कार्यालय घुमाइन् र अन्य कर्मचारीहरूसँग परिचय गराइन्। उनलाई नयाँ कार्यालय पनि मन पर्यो, विशेष गरी त्यहाँको भान्सा (किचन) र शौचालयको सुविधा राम्रो लाग्यो।
बिहान करिब १० बजे एक कर्मचारीले उनलाई तालिम दिन सुरु गरिन्। केही बेरपछि सुपरभाइजर फर्किइन् र दिउँसोअघि नै खाजा खानका लागि भनिन्। त्यसपछि उनले प्रशिक्षकलाई बैठकका लागि बोलाइन्। प्रशिक्षक फर्किइन् र उनले आफूले केही काम पूरा गर्नु पर्ने भएकाले अहिलेलाई उनी त्यहीँ बसिरहुन् भनिन्। केही बेरपछि सुपरभाइजरले फेरि उनलाई चाँडै लञ्च लिन भनिन्।
तर जतिबेला उनी कार्यालयबाट बाहिर निस्कन लागेका थिए, टेम्प एजेन्सीबाट फोन आयो। उनलाई उनको जागिर समाप्त गरिएको जानकारी दिइयो।
ती व्यक्तिका अनुसार, कम्पनीले ‘हाइजिन इस्यु’ का कारण उनलाई हटाएको जानकारी दिइएको थियो। यो सुनेर उनी स्तब्ध भए, किनकि उनी नुहाएर आएका थिए, राम्ररी तयार भएका थिए र पहिलो दिनका लागि नयाँ सर्ट समेत लगाएका थिए। उनका दुई जना साथीहरूले पनि पछि उनको शरीरको गन्धलाई लिएर कुनै ठूलो समस्या नरहेको बताए। एक जना साथीले त उनको निकै नजिक गएर सुँघ्दा पनि केवल हल्का पसिनाको गन्ध मात्र महसुस गरेका थिए।
ती व्यक्तिले आफ्नो रेडिट पोस्टमा आफू दैनिक ब्रस र फ्लस गर्ने, हालै डेन्टिस्टकहाँ गएको र धुम्रपान पनि नगर्ने कुरा उल्लेख गरेका छन्। उनले काममा जानुअघि राम्ररी नुहाएको कुरा पनि दोहोर्याएका छन्।
सबैभन्दा चिन्ताजनक कुरा के थियो भने, कम्पनी वा टेम्प एजेन्सी कसैले पनि आखिर त्यस्तो के समस्या थियो, जसका कारण उनलाई साढे दुई घण्टामै जागिरबाट हटाइयो भन्ने कुरा स्पष्ट पारेनन्।
रेडिटमा आफ्नो कथा सेयर गर्दै उनले आफू यस जागिरलाई लिएर निकै उत्साहित रहेको र नौ महिनाभन्दा बढी समयको खोजीपछि यसको निकै आवश्यकता रहेको बताएका छन्।
उक्त पोस्टमा धेरै प्रयोगकर्ताहरूले उनीप्रति सहानुभूति व्यक्त गरेका छन्। केही मानिसहरूले त के ‘हाइजिन’ लाई जागिरबाट हटाउने एउटा बहाना मात्र बनाइएको थियो? भनेर प्रश्न पनि उठाएका छन्। यद्यपि, कम्पनीले वास्तवमा उनलाई किन हटायो भन्नेबारे कुनै स्वतन्त्र पुष्टि भने भएको छैन।
रोजगारीको खोजीमा महिनौँ बिताएपछि पहिलो दिनमै यस्तो अनुभव हुनु उनका लागि ठूलो धक्काभन्दा कम थिएन। सबैभन्दा ठूलो प्रश्न अझै पनि त्यही नै छ- आखिर ती साढे दुई घण्टामा त्यस्तो के भयो कि जागिर पहिलो दिनमै गुम्यो?
No ads found for this position


डिसी नेपाल
Facebook Comment