अमेरिकी मध्यावधि निर्वाचन: डोनाल्ड ट्रम्पका लागि बढ्न सक्छन् कठिनाइहरू
काठमाडौं । अमेरिकामा मध्यावधि निर्वाचन राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि एउटा ठूलो झट्का साबित भएको छ । निर्वाचनमा उनको रिपब्लिकन पार्टी पराजित भए पनि ट्रम्पको राष्ट्रपतीय पद भने जाने छैन। तर, आगामी दुई वर्ष उनका लागि निकै कठिन हुन सक्छन्।
संसद्मा डेमोक्र्याट्सको प्रभाव बढ्न सक्नेछ, जसले ट्रम्पका निर्णयहरूमा रोक लगाउने प्रयास गर्नेछ। साथै, उनका प्रशासन र व्यावसायिक हितहरूप्रतिको छानबिनसमेत सुरु हुन सक्नेछ। यहाँसम्म कि महाअभियोगको प्रक्रियाको खतरासमेत बढ्न सक्छ।
अमेरिकामा मध्यावधि निर्वाचन राष्ट्रपति निर्वाचनको दुई वर्षपछि हुने गर्दछ। यसमा प्रतिनिधि सभाका सबै ४३५ सिट र सिनेटका लगभग एक तिहाइ सिटहरूका लागि मतदान हुन्छ। यी नतिजाहरूले संसद्का दुवै सदनमा कुन दलको बहुमत रहन्छ भन्ने कुरा तय गर्छन्।
यदि डेमोक्र्याट्सले प्रतिनिधि सभामा बहुमत हासिल गरे भने उनीहरूले धेरै वटा संसदीय समितहरूको नियन्त्रण हातमा लिनेछन्। यी समितिहरू मार्फत ट्रम्प सरकारका निर्णयहरूमाथि प्रश्न उठाउन सकिनेछ। अधिकारीहरूलाई सोधपुछका लागि बोलाउन सकिनेछ, कागजातहरू मागिन सकिनेछ र आवश्यकता परेको खण्डमा समनसमेत जारी गर्न सकिनेछ।
यसले गर्दा ट्रम्पका लागि आफ्ना इच्छाअनुसार मात्र निर्णय लिन सहज हुने छैन। उनले संसद्मा विपक्षी दलका प्रश्नहरूको सामना गर्नुपर्नेछ। यद्यपि, राष्ट्रपतिको रूपमा उनका अधिकारहरू भने सुरक्षित रहनेछन् र उनले धेरै मामिलामा कार्यकारी आदेशहरू जारी गर्न सक्नेछन्।
डेमोक्र्याट्सको जितपछि ट्रम्पविरुद्ध महाअभियोग चलाउने चर्चा तीव्र बन्न सक्छ। अमेरिकी संसद्को तल्लो सदन अर्थात् प्रतिनिधि सभालाई राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने अधिकार छ, जसका लागि साधारण बहुमत आवश्यक पर्छ।
तर, महाअभियोग लाग्दैमा राष्ट्रपतिलाई पदबाट हटाइन्छ भन्ने होइन। त्यसपछि सिनेटमा सुनुवाइ हुन्छ। राष्ट्रपतिलाई दोषी ठहर गर्न र पदबाट हटाउन सिनेटमा दुई-तिहाइ मत अनिवार्य हुन्छ। त्यसैले, डेमोक्र्याट्सको जितपछि महाअभियोगको प्रक्रिया सुरु हुन सक्तु स्वाभाविक भए पनि ट्रम्पको पद नै जान्छ भन्ने निश्चित छैन।
ट्रम्पका लागि इरानसँग जारी द्वन्द्व पनि एक ठूलो चुनौती बन्न सक्छ। डेमोक्र्याट्सले युद्धसँग जोडिएका निर्णयहरू र खर्चमाथि प्रश्न उठाउन सक्छन्। उनीहरूले रक्षा बजेट र सैन्य खर्चलाई लिएर सुनुवाइ गर्न सक्नेछन् भने संसद्मा फन्डिङ (आर्थिक सहयोग) लाई लिएर टकराव पनि बढ्न सक्छ।
यदि डेमोक्र्याट्सले बहुमत प्राप्त गरे भने उनीहरूले युद्धका लागि अतिरिक्त कोष उपलब्ध गराउने निर्णयलाई जटिल बनाउन सक्छन्। यद्यपि, यसको अर्थ निर्वाचनमा हार हुनेबित्तिकै युद्धको रकम स्वतः बन्द भइहाल्छ भन्ने होइन; विदेश नीति र सैन्य कारबाहीसँग जोडिएका थुप्रै अधिकारहरू राष्ट्रपतिकै अधीनमा रहनेछन्।
यस निर्वाचनको प्रभाव विश्वका सबैभन्दा धनी व्यवसायी एलन मस्कमाथि पनि पर्न सक्छ। मिडिया रिपोर्टहरूका अनुसार डेमोक्र्याट्सको नजर ट्रम्पसँग जोडिएका कारोबार र सरकारी ठेक्कापट्टामाथि रहेको छ, जसमा मस्कका कम्पनीहरू पनि समावेश हुन सक्छन्।
टेस्ला र स्पेसएक्सका सरकारी सम्झौता तथा नियामक मामिलाहरूमाथि छानबिनको माग उठ्न सक्छ। ट्रम्प सरकारअन्तर्गत सरकारी खर्च घटाउने संस्था ‘डोगे’ मा मस्कको भूमिका पनि शङ्काको घेरामा पर्न सक्छ। यद्यपि, हालसम्म कुनै पनि छानबिनमा मस्कका कम्पनीहरू दोषी ठहरिएका छैनन् र छानबिनका लागि अन्तिम सूचीसमेत तयार भइसकेको छैन।
निर्वाचनमा पराजय व्यहोरेपछि पनि ट्रम्पले कर (ट्यारिफ), व्यापार र विदेश नीतिसँग जोडिएका निर्णयहरू लिन सक्नेछन्। तर, घरेलु नीतिहरू तथा बजेटसँग सम्बन्धित ठूला निर्णयहरूमा भने उनले डेमोक्र्याट्सको सामना गर्नुपर्नेछ।
यदि सिनेटमा डेमोक्र्याट्सको बहुमत भयो भने ट्रम्पका नयाँ अधिकारीहरू तथा न्यायाधीशहरूको नियुक्तिमा समेत अवरोध आउन सक्नेछ। अर्थात्, मध्यावधि निर्वाचनको हारले ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउने छैन, तर संसद्मा विपक्षी दल बलियो भयो भने उनलाई सरकार चलाउन पहिलेभन्दा धेरै कठिन हुन सक्छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment