अमेरिकाको मध्यावधि निर्वाचनमा अन्तरिक्षबाट समेत मतदान
काठमाडौं । अमेरिकामा मध्यावधि निर्वाचनका लागि नासाका अन्तरिक्ष यात्री अनिल मेनन र उनका अन्य दुई सहकर्मी अन्तरिक्ष यात्रीहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट मतदान गरेका छन्। यी तीनै जना पृथ्वीबाट ४०० किलोमिटरभन्दा बढी उचाइमा रहेका छन्। यसबिच उनीहरूले मङ्गलबार इलेक्ट्रोनिक माध्यमबाट मतदान गरी आफ्नो मत सुरक्षित रूपमा पृथ्वीमा रहेका निर्वाचन अधिकारीहरूसम्म पुर्याएका छन्।
अन्तरिक्ष यात्री अनिल मेननले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै अन्तरिक्षबाट मतदान गरेको जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘हो, तपाईँ अन्तरिक्षबाट पनि मतदान गर्न सक्नुहुन्छ।’ स्टेसनमा रहेका तीनै जना क्रू सदस्यहरूले मतदानको अवसर पाएको बताउँदै उनीहरूले इलेक्ट्रोनिक मतपत्र भरेर निर्वाचन अधिकारीहरूलाई पठाएको उनले जानकारी दिए।
अन्तरिक्ष स्टेसन र मिसन कन्ट्रोलबिच पठाइने अन्य डेटा झैँ यी मतपत्रहरू पनि नासाको ‘नियर स्पेस नेटवर्क’ मार्फत पठाइन्छ। यो नेटवर्कको सञ्चालन मेरील्याण्डको ग्रिनबेल्टस्थित गोडार्ड स्पेस फ्लाइट सेन्टरले गर्छ। मतपत्रको गोपनीयता कायम राख्न यसलाई विशेष कोडमा परिवर्तन गरी सुरक्षित गरिएको थियो। यसलाई सम्बन्धित अन्तरिक्ष यात्री र निर्वाचन अधिकारीले मात्र हेर्न सक्छन्।
अन्तरिक्ष यात्री अनिल मेननले एक भिडियो जारी गर्दै आफूले आईएसएसमा आफ्नो कोठाबाटै मतदान गरेको बताएका छन्। सो समयमा उनको कोठा मतदान केन्द्र (पोलिङ बुथ) को रूपमा काम गरिरहेको थियो। मेननले आफूले इलेक्ट्रोनिक फारम भरेर टेक्ससको ह्यारिस काउन्टीका निर्वाचन अधिकारीहरूसहाँ पठाएको जानकारी दिए।
अनिल मेनन गत जुलाई १४ मा रुसी सोयुज अन्तरिक्ष यानमार्फत आईएसएस पुगेका थिए भने लुक डेलामी र जेसिका वाटकिन्स अक्टोबर १ मा स्पेसएक्स मिसनमार्फत त्यहाँ पुगेका हुन्। अमेरिकामा मङ्गलबार मध्यावधि निर्वाचन भइरहेको छ, जसमा हाउस अफ रेप्रिजेन्टेटिभ्सका ४३५ सदस्य, सिनेटका ३७ सदस्य, ३६ राज्यका गभर्नर र धेरै स्थानीय निर्वाचित अधिकारीहरू चयन हुनेछन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment