हर्मुज स्ट्रेटमा तनाव तीव्र, तीन वटा ट्याङ्कर माइनमा ठोक्किएर विष्फोट भएको इरानी सेनाको दाबी

डिसी नेपाल
१८ कार्तिक २०८३ १०:५६

काठमाडौं । हर्मुज स्ट्रेटमा तनाव निरन्तर बढ्दै गएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को नौसेनाले हर्मुजबाट इरानको अनुमतिबिना गुज्रिरहेका तीन वटा तेल ट्याङ्कर समुद्री माइन मा ठोक्किएपछि विष्फोट भई क्षतविक्षत भएको दाबी गरेको छ।

आईआरजीसीका अनुसार तीनवटै ट्याङ्कर स्ट्रेटको दक्षिणी भागबाट गुज्रिरहेका थिए र उनीहरूले आफ्नो लोकेसन ट्र्याक गर्ने प्रणाली (जिपिएस/एआईएस) बन्द गरेका थिए। विष्फोटपछि जहाजहरूमा आगो लागेको थियो र ती स्ट्रेटको दक्षिणी तट नजिकै बलिरहेको अवस्थामा देखिएका थिए।

आफ्नो अनुमतिबिना यो महत्त्वपूर्ण समुद्री मार्गबाट गुज्रिने जहाजहरूलाई रोकिने चेतावनी इरानले लामो समयदेखि दिँदै आएको छ। होर्मुज स्ट्रेट विश्वमा ऊर्जा आपूर्तिको दृष्टिकोणले अत्यन्तै संवेदनशील एवं महत्त्वपूर्ण समुद्री मार्ग हो। यहाँ बढ्दै गएको तनावले अन्तर्राष्ट्रिय समुद्री आवागमन र इन्धन आपूर्तिलाई लिएर विश्वव्यापी चिन्ता बढाउन सक्छ।

यसैबीच, आईआरजीसीले इरानको तटीय क्षेत्र बन्दर खमिरमाथि दुई वटा अमेरिकी लुकास ड्रोन खसालेको दाबी गरेको छ। इरानको समाचार एजेन्सी तस्निमका अनुसार आईआरजीसीले यो कारबाही गरेको हो। यसअघि सोमबार राति पनि आईआरजीसीको नौसेनाले होर्मुज स्ट्रेटमा एक अमेरिकी ड्रोन नष्ट गरेको जानकारी दिएको थियो।

समुद्रमा बढ्दो तनावका बीच कतारले अमेरिका र इरानबीचको विवाद अन्त्य गराउन मध्यस्थताको प्रयास जारी रहेको बताएको छ। कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजिद अल-अन्सारीले दुवै देश सङ्कटको समाधान खोज्न पेस गरिएका प्रस्तावहरूमाथि विचार गरिरहेको जानकारी दिए। उनले दुवै पक्षबीचको मतभेद कम गराउने प्रयास निरन्तर भइरहेको बताए।

होर्मुजमा विकसित पछिल्लो घटनाक्रम यस्तो समयमा भएको छ, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध नयाँ सैन्य आक्रमणको चेतावनी दिइसकेका छन्। कूटनीतिक वार्ता असफल भएमा अमेरिकाले इरानमाथि पुनः आक्रमण गर्न सक्ने चेतावनी ट्रम्पले दिएका हुन्।

हालैका दिनहरूमा अमेरिकाले इरानको केसम् टापुमा सैन्य कारबाही गर्नुका साथै होर्मुज स्ट्रेटमा पनि आफ्ना अपरेसनहरू सञ्चालन गरेको छ। ट्रम्पले यी कारबाहीहरूलाई सही ठहराउँदै आगामी दिनमा अझ ठूला आक्रमणहरू गर्ने चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्पले इरानको नतान्ज नजिकै रहेको पिक्याक्स माउन्टेन परमाणु अखडालाई पनि निशाना बनाउने कुरा बताएका छन्। यो पहाडमुनि निर्माण गरिएको एक अत्यन्तै मजबुत र भूमिगत परमाणु अखडा हो। इरानको परमाणु क्षमता जमिनमुनि विशाल चट्टानहरूको बीचमा लुकेको हुनाले अमेरिकाले यस अखडामा आक्रमण गर्नुपर्ने हुन सक्ने ट्रम्पको भनाइ छ।

यद्यपि, ट्रम्पले यस कारबाहीमा आणविक हतियारको प्रयोग नगरिने स्पष्ट पारेका छन्। उनले परम्परागत हतियारहरूबाट मात्र आक्रमण गरिने बताएका छन् भने अमेरिकी स्थलसेनालाई इरान नपठाउने कुरा पनि दोहोर्‍याएका छन्।

यसरी होर्मुजमा ट्याङ्करहरूमा भएको विष्फोट, ड्रोन खसालेको इरानी दाबी र अमेरिकाको सैन्य कारबाहीको चेतावनीले खाडी क्षेत्रमा तनाव झनै बढाएको छ। अर्कोतर्फ, कतारको मध्यस्थतामा दुवै देशबीच वार्ताको प्रयास पनि जारी रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *