मिडटर्म निर्वाचनले तय गर्नेछ अमेरिकी राष्ट्रपतिको शक्ति

डिसी नेपाल
१७ कार्तिक २०८३ १५:१९
4
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिकामा राष्ट्रपति निर्वाचनको दुई वर्षपछि आयोजना हुने मध्यवधि निर्वाचन प्रारम्भ भएको छ। अमेरिकी संसद्का दुवै सदन-सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्स मा कुन दलको बहुमत रहनेछ र आगामी दुई वर्ष विधायिकाको कार्यदिशा कसरी अघि बढ्नेछ भन्ने कुरा यसै निर्वाचनले तय गर्नेछ।

यसपटकको निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको खस्किँदो लोकप्रियता र त्यसले सत्तासीन रिपब्लिकन पार्टीमा पार्ने प्रभावलाई प्रमुख चासोका रूपमा हेरिएको छ। ह्वाइट हाउस, सिनेट र प्रतिनिधि सभामा नियन्त्रण कायम गरेको रिपब्लिकन पार्टीका लागि पछिल्लो समय उच्च महँगी, स्वास्थ्य सेवाको बढ्दो लागत तथा फेब्रुअरीदेखि सुरु भएको इरान युद्ध मुख्य चुनौती बनेका छन्।

जनमत सर्वेक्षणहरू अनुसार राष्ट्रपति ट्रम्पको कार्यसम्पादन स्वीकृति दर घटेर करिब ३९ प्रतिशतमा सीमित भएको छ भने ६१ प्रतिशत नागरिक असन्तुष्ट देखिएका छन्।

वर्तमान जनमत सर्वेक्षणहरूले डेमोक्र्याटिक पार्टीको पक्षमा बलियो लहर आउन सक्ने संकेत गरेका छन्। केही सर्वेक्षणहरू अनुसार डेमोक्र्याटहरूले प्रतिनिधि सभामा बहुमत प्राप्त गर्नुका साथै सिनेटमा पनि ५३ देखि ५४ सिटसम्म पुग्न सक्ने अनुमान गरिएको छ। यद्यपि, रिपब्लिकन समर्थक मतदाताहरू अक्सर सर्वेक्षणहरूमा सहभागी नहुने भएकाले अन्तिम नतिजा फरक पर्न सक्ने सम्भावना पनि उत्तिकै छ।

डेमोक्र्याटिक पार्टीका लागि सरकारविरोधी जनलहर र जनमतको अनुकूल स्थिति फाइदाजनक भए पनि आफ्ना समर्थकहरूलाई मतदान केन्द्रसम्म ल्याउनु र स्वतन्त्र मतदाताहरूको विश्वास जित्नु मुख्य चुनौती रहेको छ। विशेषगरी, सन् २०१६ को निर्वाचनमा सर्वेक्षणको भर पर्दा धेरै मतदाता घरमै बसेकाले यसपटक डेमोक्र्याटहरू सजग देखिएका छन्। साथै, सीमा सुरक्षा तथा आप्रवासन जस्ता संवेदनशील मुद्दामा संयमित बन्दै डेमोक्र्याटहरूले मध्यमार्गी रणनीति अपनाएका छन्।

यदि मिडटर्म निर्वाचनमा रिपब्लिकन पार्टीले बहुमत गुमाएमा पनि राष्ट्रपति ट्रम्पले पद छाड्नुपर्ने छैन र उनको कार्यकारी अधिकार कायम नै रहनेछ। अमेरिकी विदेश नीति, भन्सार महसुल, व्यापार नीति तथा युद्धसम्बन्धी निर्णयहरू ह्वाइट हाउसको अधिकार क्षेत्रभित्र पर्ने भएकाले त्यसमा खासै ठूलो परिवर्तन नआउन सक्छ। तर, घरेलु नीति, बजेट स्वीकृति तथा कानुन निर्माणका मामिलामा भने संसद्को निगरानी बढ्ने र ट्रम्प प्रशासनले डेमोक्र्याटहरूसँग सम्झौता तथा सहकार्य गर्नुपर्ने बाध्यकारी स्थिति सिर्जना हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *