ओमानको तट नजिकै १४ जना भारतीय चालक दलका सदस्य सवार जहाजमा आक्रमण
काठमाडौं । ओमानको तट नजिकै १४ जना भारतीय चालक दलका सदस्य सवार एक मालवाहक जहाजमा हवाई हमला हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ।
गएको सोमबार ‘एमएसभी अल जुसुफी’ नामक जहाजमा भएको उक्त आक्रमणमा परी गुजरातका नाविक गान्धार नहिम अजिजको गम्भीर चोटका कारण निधन भएको हो।
भारतका केन्द्रीय जलमार्ग मन्त्री सर्बानन्द सोनोवालका अनुसार जहाजमा सवार १४ जना भारतीय नाविकहरूमध्ये १३ जनालाई ओमान कोस्ट गार्डले सकुशल उद्धार गरेको छ।
मन्त्री सोनोवालले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै ओमानस्थित भारतीय दूतावास र मन्त्रालयले स्थानीय अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको बताएका छन्।
जीवित उद्धार गरिएका १३ नाविकलाई तत्काल राहत तथा स्वदेश फिर्ता र मृतक नाविकको शव भारत ल्याउने प्रक्रिया अगाडि बढाइएको उनले जनाएका छन्।
यसैबीच, भारतको विदेश मन्त्रालयले सो व्यापारिक जहाजमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। उक्त क्षेत्रमा व्यापारिक जहाजहरूमाथि निरन्तर भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मन्त्रालयले तनाव कम गर्न, कूटनीतिक संवादलाई निरन्तरता दिन र क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्न सम्बद्ध पक्षहरूसँग अपिल गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment