समाजवादी क्रान्तिको लक्ष्यसहित दुई कम्युनिष्ट घटकबीच एकता: चुनाव चिन्ह ‘पाँचकुने तारा’ रहने

डिसी नेपाल
१७ कार्तिक २०८३ १४:२१
4
Shares

काठमाडौं। देशमा विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र सामाजिक-आर्थिक रूपान्तरणमार्फत समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ दुई कम्युनिष्ट घटकबीच पार्टी एकता भएको छ।

बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण र ध्रुवीकरणको आवश्यकतालाई मध्यनजर गर्दै नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबिच पार्टी एकता तथा संगठनात्मक समायोजनसम्बन्धी महत्त्वपूर्ण सहमति पत्रमा हस्ताक्षर भएको हो।

एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिनेछ भने चुनाव चिन्ह ‘पाँचकुने तारा’ तय गरिएको छ। नयाँ पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद-लेनिनवाद रहने र नेपाली क्रान्तिको मूल कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने सहमति भएको छ।

तात्कालिक कार्यनीतिका रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन र आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार गर्ने लक्ष्य लिइएको छ।

आन्दोलनको स्वरूप मूलतः शान्तिपूर्ण रहने भए पनि समय र परिस्थिति अनुसार सडक, संसद् र सरकारलगायतका सबै मोर्चालाई आन्दोलनका रूपमा प्रयोग गर्न सकिने नीति लिइएको छ।

संगठनात्मक संरचनाअन्तर्गत आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तय गरिएको छ।

त्यस्तै, केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय र केन्द्रीय कार्य संयोजन समितिलगायतका सबै तहका पार्टी समिति एवम् जनसंगठनहरूमा सहमतिका आधारमा सङ्गठनात्मक समायोजन गरिनेछ, जुन कार्य आगामी मङ्सीर मसान्तभित्र सम्पन्न गरिने जनाइएको छ।

पार्टी समितिहरूको सञ्चालन जनवादी केन्द्रीयताको सिद्धान्त र स्पष्ट विधि-पद्धति अनुसार हुनेछ। सिद्धान्त, विचार तथा विगतका समीक्षाका विषयमा रहेका भिन्न मतहरूमाथि निरन्तर छलफल जारी राख्दै एकता राष्ट्रिय महाधिवेशनमार्फत अन्तिम निष्कर्षमा पुगिने सहमति पत्रमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *