एनपीएल: जनकपुरविरुद्ध विराटनगरका तीन ब्याटरको अर्धशतक

डिसी नेपाल
१७ कार्तिक २०८३ १४:४९
8
Shares

काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किङ्सका तीन जना ब्याटरले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरका लागि ओपनर लोकेश बम, इमरान शेख र विस्फोटक ब्याटर आन्द्रे रसेलले अर्धशतक प्रहार गरेका हुन्।

विराटनगरका निम्ति इमरान शेखले सर्वाधिक ५६ रनको योगदान दिए। उनले ४० बलको सामना गर्दै दुई छक्का र चार चौकाको मद्दतमा आफ्नो अर्धशतक पूरा गरेका थिए।

त्यस्तै, आन्द्रे रसेलले ५२ रन जोडे भने ओपनर लोकेश बमले ५० रन बनाए। यससँगै लोकेश बम चालु एनपीएलको तेस्रो संस्करणमा व्यक्तिगत दुईवटा अर्धशतक पूरा गर्ने पहिलो खेलाडी बनेका छन्।

इनिङ्सका क्रममा लोकेश बम र इमरान शेखबिच १०७ रनको उत्कृष्ट शतकीय साझेदारी भएको थियो, जुन चालु प्रतियोगिताकै अहिलेसम्मकै उच्च साझेदारीसमेत हो।

यी तीनै ब्याटरको उत्कृष्ट अर्धशतकीय योगदानको मद्दतले विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै कुल १७४ रनको मजबुत योगफल तयार पारेको छ। अब जनकपुरले यो लक्ष्य प्राप्त गर्न १७५ रन बनाउनुपर्नेछ।

जनकपुरविरुद्धको यस खेलसँगै चालु एनपीएलमा अर्धशतक प्रहार गर्ने खेलाडीहरूको कुल संख्या आठ पुगेको छ।

यसअघि चितवन राइनोजका डेभिड मलानले प्रतियोगिताको पहिलो, सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीले दोस्रो, जनकपुरका मोइन अलीले तेस्रो, विराटनगरका लोकेश बमले चौथो, कर्णाली याक्सका सोमपाल कामीले पाँचौँ, जनकपुरका तृतराज दासले छैटौँ र काठमाडौँ गोर्खाजका राशिद खानले सातौँ अर्धशतक बनाएका थिए। आजको खेलमा इमरान शेखले प्रतियोगिताको आठौँ अर्धशतक पूरा गरेका हुन्।

प्रतियोगितामा यसअघि तीन खेल खेलेको विराटनगरले एक जित र दुई हार बेहोरेको छ भने आज आफ्नो चौथो खेलमा दोस्रो जितको खोजीमा छ। यता, तीन खेलमा दुई जित र एक हार निकालेको जनकपुर आज लगातार तेस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ।

यसैबीच, आजै साँझ ५ बजे हुने दिनको दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुनेछ। दुई खेलमा एक जित र एक बराबरी (अंक बाँडेको) नतिजा निकालेको लुम्बिनी आफ्नो अपराजित यात्रा कायम राख्ने दाउमा छ भने दुवै खेलमा पराजित भएको पोखरा एभेन्जर्स तेस्रो खेलमा प्रतियोगिताको पहिलो जितको खोजीमा हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *