प्लेअफको सम्भावना बलियो बनाउन विराटनगरलाई जनकपुरविरुद्ध जित्नैपर्ने दबाब

डिसी नेपाल
१७ कार्तिक २०८३ १३:३९
4
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा भइरहेको छ। यो खेल अंकतालिकामा सुधार गर्दै प्लेअफको यात्रा बलियो बनाउन विराटनगरका लागि निकै महत्त्वपूर्ण मानिएको छ।

प्रतियोगितामा अहिलेसम्म खेलेका तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोर्दै २ अंकका साथ अंकतालिकाको छैटौँ स्थानमा रहेको विराटनगरलाई शीर्ष चारभित्र पर्ने सम्भावना कायम राख्न जितको विकल्प छैन।

यदि आजको खेलमा विराटनगर पराजित भएमा चार खेलबाट २ अंकमै सीमित हुनुपर्नेछ, जसका कारण टोलीले लिग चरणका बाँकी सबै तीन खेल जित्नुपर्ने थप दबाब सामना गर्नुपर्ने हुन्छ।

साथै, समान अंक र ३ अंक जोडिसकेका अन्य प्रतिस्पर्धी टोलीहरूसँगको दौडमा नेट रनरेटसमेत निर्णायक बन्ने भएकाले विराटनगरका लागि ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा सुधार गर्दै नतिजा आफ्नो पक्षमा पार्नु आवश्यक छ।

अर्कोतर्फ, तीन खेलमा दुई जित र एक हारसहित ४ अंक जोडेर अंकतालिकाको दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स भने तुलनात्मक रूपमा सहज स्थितिमा छ। जनकपुर आजको खेल जित्दै तालिकाको आफ्नो स्थिति अझ बलियो बनाउने र जितको लय कायम राख्ने योजनामा रहेको छ।

आजको खेलमा टस जितेर जनकपुरका कप्तान हर्मित सिंहले लक्ष्य पछ्याउन सहज हुने आकलन गर्दै पहिले बलिङ गर्ने निर्णय लिएका छन्। विराटनगरलाई कम रनमा रोकेर सहज रूपमा लक्ष्य भेट्टाउने जनकपुरको रणनीति छ भने विराटनगरका कप्तान सन्दीप लामिछानेले बोर्डमा बलियो योगफल खडा गरेर त्यसलाई सफलतापूर्वक डिफेन्ड गर्ने लक्ष्य रहेको बताएका छन्।

अंकतालिकामा हाल कर्णाली याक्स शीर्ष स्थानमा छ भने जनकपुर दोस्रो, सुदूरपश्चिम रोयल्स तेस्रो, लुम्बिनी लायन्स चौथो, चितवन राइनोज पाँचौँ, विराटनगर छैटौँ, काठमाडौँ गोर्खाज सातौँ र पोखरा एभेन्जर्स आठौँ स्थानमा रहेका छन्।

लिग चरणमा विराटनगरले अब नोभेम्बर ५ मा काठमाडौँ गोर्खाज, नोभेम्बर १२ मा पोखरा एभेन्जर्स र नोभेम्बर १४ मा लुम्बिनी लायन्ससँग खेल्न बाँकी छ। समग्रमा पराजयको दबाबबाट बाहिर निस्कन विराटनगर र जितको सिलसिला जारी राख्न जनकपुर मैदानमा उत्रिएकाले आजको भिडन्तलाई निकै रोचक रूपमा हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *